नेभिगेशन
खेलकुद

विश्वकप लिग टू क्रिकेटः अमेरिकासँग खेल्दै नेपाल, चिन्ता ब्याटिङकै

काठमाडौँ– आईसीसी विश्वकप लिग–टू एकदिवसीय क्रिकेटमा नेपालले आज घरेलु टिम अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ९ः १५ मा अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा सुरु हुनेछ । जारी त्रिकोणात्मक सिरिजमा नेपाल पहिलो र अमेरिका लगातार दोस्रो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा पराजित भएको ओमानलाई अमेरिकाले १ सय १४ रनले हराएको थियो । अमेरिका घरेलु मैदान र यही मनोबलका साथ मैदान उत्रनेछ । पहिलो खेलमा नेपाल भने ओमानसँग १४ रनले पराजित भएको थियो २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल मात्र १ सय ९८ रनमा समेटिएको थियो । ओमानसँगको खेलमा बलिङ बलियो देखिएपनि नेपाल ब्याटिङमा चुकेको थियो । उसो त नेपाली टिम सँधै अस्थिर ब्याटिङका कारण सोचेजस्तो नतिजा निकाल्नबाट बञ्चित रहँदै आएको छ । शुरुदेखि नै ब्याटिङको सकसमा रहेको नेपाली टिमले अझै ब्याटिङमा बलियो उपस्थिति जनाउन सकेको छैन । लामो समयपछि केही सम्हालिएको ओपनिङ ब्याटिङले पनि यसपटक नेपाललाई धोका दिएको छ । ओपनरहरू असिफ शेख र कुशल भुर्तेल दुबै घाइते भएपछि नेपाली ब्याटिङ थप समस्यामा परेको छ । बन्द प्रशिक्षण मै नभएका सुवास खकुरेललाई ओपनिङमा खेलाइएको छ । उनलाई ओमानसँगको खेलमा डेब्यु गरेका सुनिल धमलाले ओपनिङमा साथ दिनेछन् । ओमानसँगको खेलमा भरपर्दा ब्याटर दिपेन्द्रसिंह ऐरीले पनि गतिलो प्रदर्शन गर्न सकेनन् । यस्तै ठूला सट हानेर टिमको उद्धार गर्ने गरेका अलराउण्डर करन केसीले पनि ब्याटिङमा भरथेग गर्न नसक्दा नेपाल सानो लक्ष्यमा पनि पराजित हुनु परेको थियो । करणले बलिङमा भने ५ विकेट लिएर सनसनी मच्चाएका थिए । अमेरिकासँगको खेलमा कुशल भुर्तेल टिममा फर्किन सक्ने सम्भावना रहेको बताइएपनि निश्चित भइसकेको छैन । उनी उपलब्ध भए सुिनलसँग मिलेर ओपनिङ गर्ने सम्भावना छ । उनले पहिलो खेलमा १२ रन बनाएका थिए । नेपाललाई आज पनि मध्यक्रममा ब्याटरहरू ऐरी, आरिफ शेख र रोहितकुमार पौडेलको ब्याटिङको भर अर्थपूर्ण हुनेछ । अमेरिकासँगको खेलमा पनि नेपाली टिम ब्याटिङकै चिन्ताबाट सताइएको हुनेछ । कप्तान सन्दीप लामिछानेले पहिलो खेल ब्याटिङ भरपर्दो हुन नसकेकै कारण हार ब्यहोर्नुपरेको भन्दै पहिलो खेलको कमी कमजोरी सच्याएर खेल्ने बताएका छन् । अमेरिकी टिममा कप्तान मोनांक पटेल, सुशान्त मोदानी, स्टिभ टेलर, आरोन जोन्स, अलि खान जस्ता लयका खेलाडी छन् । नेपाल र अमेरिकाबीच अहिलेसम्म चारवटा एकदिवसीय क्रिकेट भएकोमा नेपाल तीन खेलमा विजयी भएको छ । दुई वर्षअघि कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनमा अल आउट गरेको थियो ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै