नेभिगेशन
विज्ञान प्रविधि

आत्महत्याको अत्यासलाग्दो तथ्याङ्क

काठमाडौं - नेपालमा आत्महत्याकाे संख्या घट्न नसकेकाे पाइएको छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म नेपालमा ४ हजार ७५१ जनाले आत्महत्या गरेका छन् ।

आव २०७७/७८ मा नेपालमा ७ हजार १४१ जनाले आत्महत्या गरेकाे प्रहरीको तथ्याङ्क छ । यस्तै, आव २०७६/७७ मा ६ हजार २५२ जनाले र आव २०७५/७६ मा १ हजार १२५ जनाले आत्महत्या गरेको  नेपाल प्रहरीको तथ्याङ्क छ ।

प्रहरीको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमध्ये धेरैले झुण्डिएर आत्महत्या गरेको पाइएको छ ।

आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष बढी छन् । प्रदेश-१ र लुम्बिनीमा आत्महत्या गर्नेको स‌ंख्या बढी पाइएको छ ।  यस्तै आत्महत्याको बाटो रोज्नेमा बालकभन्दा बालिका धेरै छन् । चैतसम्मको ९ महिनामा काठमाडौँ उपत्यकामा ३६० जनाले आत्महत्या गरेका छन् ।

चालु आर्थिक बर्षका ९ महिनामा झुण्डिएर ३ हजार ९७८ ले आत्महत्या गरेका छन् । त्यसमध्ये महिला १ हजार २७८, पुरुष २ हजार २५८, बालक १६९ र बालिका २७२ जना रहेको छ ।

विष खाएर ६९५ जनाले आत्महत्या गरेका छन् । जसमा पुरुष ३८३, महिला २५५, बालिका ४० र बालक १८ जना रहेका नेपाल प्रहरीले जनाएको छ ।

यस्तै हाम फालेर ३३ जना, डुबेर २६ जना तथा औजारको प्रयोग गरेर र शरीरमा आगो लगाएर १०-१० जनाले जीवन त्यागेको प्रहरीको तथ्याङ्क छ ।

मानसिक रोग विशेषज्ञ डा. अन्जन ढकाल मानिसले आत्महत्याको बाटो रोज्नुमा विभिन्न कारणहरु हुने बताउँछन् । नेपालमा विशेष गरी  आर्थिक र सामाजिक कारण मुख्य देखिएको उनले बताए । गरिबी, बेरोजगारी, स्वास्थ्यमा समस्या, शारीरिक र मानसिक यातना, टुटेको प्रेम सम्बन्ध, अन्य विभिन्न खालका तनावबाट मुक्तिका लागि मानिसले आत्महत्या जस्तो गलत बाटो रोज्ने गरेको पाइएको डा. ढकाल बताउँछन् । यस्तै पारिवारिक बेमेल, एकलोपन, सामाजिक विभेद, अवैध सम्बन्ध, विभिन्न सामाजिक लाञ्छना लगायतका कारणले पनि मानिसले आफैले आफ्नै जीवन अन्त्य गर्न तयार हुने गरेको उनी बताउँछन् ।

नेपालमा आत्महत्याको तथ्याङ्क अत्यासलाग्दो बन्दै गइरहेको बताउँदै ढकाल भन्छन्, ‘जीवनमा आफू सबै कुराबाट एक्लो, बञ्चित र तिरस्कृत भएको महसुस गरेर आत्महत्यालाई समस्याबाट उन्मुक्तिको बाटो देख्नु सर्वथा गलत हाे ।’ पछिल्लो समय विशेष गरी किशोर-किशोरीले समस्याहरुलाई समाधान गर्ने बाटो र उपायहरु खोज्नुको सट्टा आत्महत्याको बाटो रोज्ने गरेका घटना बढेको ढकाल बताउँछन् ।

किशोर-किशोरीहरु मानसिक र शारीरिक रुपमा सवल भइनसकेको हुनाले पनि सानातिना समस्या र असमझदारीमै आत्महत्या जस्तो गलत निणर्य लिन पुग्ने गरेको अधिकांश घटनाको अध्ययनले देखाउने गरेको समेत ढकालले जानकारी दिए ।

मानसिक रुपमा आफूलाई कमजोर महसुस हुन थालेपछि मानिसले आत्महत्याको बाटो रोज्ने गरेको देखिएकाले सरकारले विभिन्न माध्यमबाट आत्महत्या न्यूनिकरणमा सहयोग पुग्ने जनचेता अभिवृद्धिका कार्यक्रमहरु चलाउनुपर्ने पनि ढकालको भनाइ छ ।

घर-समाजले पनि सँधै निराशा व्यक्त गरिरहने, एक्लै बस्न रुचाउने, कम बोल्नेलगायतका विभिन्न समस्या देखिएका व्यक्तिको समस्या परिवारका अन्य सदस्य, आफन्त, छरछिमेकले बुझेर उनीहरुलाई सरसल्लाह र सुझाव दिन आवश्यक रहेको मनोविदहरु बताउँछन् । उनीहरुलाई सहि सल्लाह, सुझाव र मनोपरामर्शलगायतका विभिन्न कार्यक्रम गरेर पनि आत्महत्या गर्नेसम्मको निणर्यमा पुगेकाहरुलाई जीवनको बाटोमै फर्काउन सकिने मनोविदहरुको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्