नेभिगेशन
खेलकुद

एस्टोनियाको पोस्टमा मेस्सी एक्लैको पाँच गोल

काठमाडौँ– कप्तान लियोनेल मेस्सी एक्लैले पाँच गोलको मद्दतमा अर्जेन्टिनाले एस्टोनियामाथि मैत्रीपूर्ण खेलमा शानदार जीत हासिल गरेको छ । केही दिन अघिमात्र युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीचको फाइनालिस्मामा इटालीलाई ३-० ले हराएको अर्जेन्टिनाले आफ्नो उत्कृष्ट फर्मलाई जारी राखेको हो । आइतबार राति भएको खेलमा मेस्सीले खेलको सुरुवातमा पेनाल्टीबाट अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको अन्त्यमा उनले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा तीन गोल थप्दै टोलीलाई सहज जीत दिलाए । ३४ वर्षीय खेलाडीले अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल गरेको पहिलो पटक हो । यसअघि बार्सिलोनाका लागि उनले बायर लेभरक्युजनविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । योसँगै अन्तर्राष्ट्रिय खेलमा मेस्सीको गोल सङ्ख्या ८४ पुगेको छ । उनी सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थानमा रहेका छन् । शीर्ष स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले ११७ गोल गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै