ज्येष्ठ नागरिकलाई बेवास्ता गरेर विकास हुन्छ र ?

बुधबार, मंसिर ७, २०७९
पाका मानिस बिना संसारको कल्पना गर्न सकिन्न, आजका बालबालिका भोलि किशोर-किशोरी र वयस्क अनि पर्सी ज्येष्ठ नागरिक अर्थात पाका मानिस । अहिले नै पनि ज्येष्ठ नागरिक समूहमा नेपालको सन् २०१९ को जनसंख्या आँकडा हेर्दा २५ लाख २१ हजार मानिस ६० वर्ष माथिका थिए । त्यो कुल जनसंख्याको ८ दशमलव ७ प्रतिशत थियो । यसमा एकल ज्येष्ठ नागरिक करिब ४ प्रतिशत छन् । नेपालमा कुल वयस्कको संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ भएको आँकडा छ । जीविकोपार्जन र परिवारको भरणपोषणका लागि ६० लाखभन्दा धेरै नागरिक बाहिरी देशमा गएका छन् । यसरी नेपालमै रहेका वयस्क १ करोड १७ लाख ३३ हजार ७२७ मध्ये ६० वर्ष माथिका करिब २५ लाख २१ हजार अर्थात २१ दशमलव ४९ प्रतिशत पाका मानिस रहेको मोटामोटी आँकडा निस्कन्छ । सन् २०१९ मा गरिएको प्रक्षेपणमा सन् २०५० सम्म ६० वर्षमाथिका नागरिकको संख्या ६५ लाख ६८ हजार पुग्नेछ । जुन कुल जनसंख्याकै १८ दशमलव ६ प्रतिशत हुनेछ । देशको राजनीतिक तथा सामाजिक स्थिति बिग्रहपूर्ण र अस्थिर रहिरहँदा विदेशिने वयस्कहरू झन् बढ्ने छन् भने पाका मानिसको प्रतिशत बढ्नु स्वभाविक हुनेछ । भविष्यका लागि तयारी स्वरुप अहिले नै कूल जनसंख्याको ५ भागको एक भाग भन्दा बढी संख्यामा रहेका सीप, ज्ञान, अनुभवयुक्त, आदरणीय पाका मानिसबारे व्यवहारिक जिम्मेवारी बहन गर्न सुरु गरिहाल्नुपर्ने देखिन्छ । बिचार गरौं, नेपालमा बालबालिकाको प्रतिशत २८ दशमलव ८१ छ । ४० वर्षसम्मकालाई युवा मान्दा उनीहरुको प्रतिशत ४० दशमलव ३ प्रतिशत हुन्छ । २५ वर्ष नपुगी उत्पादनमा नलाग्ने कुरा विदितै छ भने त्यस आँकडाबाट आधाभन्दा बढी नकमाउने वर्गमा नै पर्छन् । हाम्रो नेपाली समाजको करिब आधा संख्या मात्र बढी क्रियाशिल भएको देखिन्छ र परिवारको आधा संख्या निर्भर छ । तर हेक्का के रहोस् भने दीर्घरोग वा शारिरीक अप्ठ्यारोमा रहेका बाहेक धेरैजसो पाका मानिसले केही न केही उत्पादनमुखी काम गरेर परिवारलाई सघाईरहेका छन् । बालबालिका र किशोर किशोरी पूणर्तया परिवारमा आश्रित छन् । पाका मानिस घर बाहिर काममा नगए पनि घरभित्रका सबैजसो काम गर्छन् । बढारकुँढार, राखनधरन, नाति नातिनाको हेरविचार, खुवाउने, पकाउने जस्ता काममा सघाइरहेका हुन्छन् । बाहिरियासँगको सम्पर्क र व्यवहारमा अनुभवजन्य दूरगामी निणर्य गरी सहयोग गर्छन् । कारोबार वा लेनदेनमा मानिसका स्वभावको परीक्षणजन्य अन्तिम कुशल निणर्य दिन सक्छन् । बालबच्चा हुँदा हुर्काउने अनुभवसिद्ध व्यवहार गर्छन् र अरु धेरै काममा सघाउन सक्छन् । नातागोता र ईष्टमित्र आउँदा परिवारलाई यथोचित व्यवहार गर्न सिकाई सम्बन्ध सुमधुर बनाई राख्न मद्दत गर्छन् । हजुरबा हजुरआमासँग हुर्केका केटाकेटीले बाआमासँग मात्र हुर्किएकाभन्दा धेरै कुरा सिक्न सक्ने र सोचाइको परिधि फराकिलो पार्न सक्ने त विभिन्न अध्ययनले पनि देखाएका छन् । कतिपय बेला वयस्कले तिनै पाका मानिसको सन्दर्भ र नाता जोडेर बाहिरी काम फत्ते गर्छन् । हो, यसैलाई ‘बाबु-आमाको इज्जतले काम गरेको’ भन्छन् । नेपालमा पछिल्लो समय विकासको नाममा नैतिक, सामाजिक र साँस्कृतिक विकासको सट्टा भौतिक विकास-बाटोघाटो र सडक अथवा ठूला सँरचना निर्माणको लहर नै चल्यो । निजी सम्पति हडपेर भए पनि र सम्भावित बाढी पहिरो र मौसम परिवर्तनको समेत अध्ययन नगरी बिना मुआब्जा उठिबास लगाएर बाटो चौडा बने र जता पनि चौतर्फी बने, जङ्गल फँडानी भए । नेपाल करीब १७ प्रतिशत समतल भूभाग भएको देश भनेर घोके पनि डाँडाडाँडामा दृष्यावलोकन केन्द्र बनाई विकासको ‘मुर्ख नमुना’ पेश गरेकै छन् । तराईमा केही काम लागे पनि डाँडामा के काम होला त्यस्ता अग्ला संरचनाको ? केबल राजश्व सिध्याउने र विकासको कुरुप व्याख्या जनतालाई बुझाउने बाहेक । विजुलीको सुचारुपन नभएको देशमा वयस्क बाहेक कसले उक्लन सक्ला त्यस्ता संरचनाको भर्‍याङ ? त्यस्तोमा खर्च गरिने राजश्वको सट्टा सर्वसाधारणलाई अधारभूत आवश्यकता-शिक्षा, स्वास्थ्य र दैनिक आपूर्तितर्फ मद्दतपुग्ने संस्थान, उद्योग र कलकारखाना स्थापनामा ध्यान दिएको त देखिएन । त्यसो भए पो सर्वसाधारणले काम पाएर जीविकोपार्जनमा सहजता आउँथ्यो । एकातिर साँस्कृतिक बिचलन र अर्कोतर्फ पाका मानिसमैत्री नभएका पूर्वाधारले गर्दा उनीहरुले पाउनु सास्ती पाइरहेका छन् । बाटो वा मार्ग : बाटो चौडा बनाउने र धेरैतिर बनाउने त ठूलो विकास भईहाल्यो अहिलेका मानिसलाई । यसै निहुँमा धनिका मोटर दौडाउन कतिका घरजग्गा नोक्सान भए र कति घरबारबिहीन भए । खास समयमा ठिकठिकै उपयोग भए पनि बढेका बाटो त अरुबेला ठेकेदारका ट्रक, बस र मोटर पार्क गर्न पो प्रयोग भईरहेका छन् । ती बाटो बनाउँदा सर्वसाधारण पाका मानिसलाई सुरक्षित भएर हिँडन दुबैतिर सजिला पदमार्ग र ठाउँठाउँ बिश्राम गर्ने छानासहितको बस्ने फलैंचा बनाइए त ? सार्वजनिक यातायात कुर्ने ठाउँमा एकछिन पर्खिउञ्जेल थकाई मार्ने, पानी पिउने र शौच गर्ने कुनै संरचना भए त ? भएका साना पदमार्गमा पनि बारबन्देज नभएर उन्मत्त सवारीचालकले उछिट्टिएर आई दुर्घटना र ज्यान जोखिममा पारेका धेरै घटना अचेल सुनिन्छन् । बाटो ठूलो बनाउने हो भने त्यस्तो बाटो काट्न पाका मानिसलाई गाह्रो र धेरै समय लाग्ने भएर चौबाटोमा के व्यवस्था गरियो त ? के विकास देखाउन उक्लनै नसक्ने पुल निर्माण गर्नु बुद्धिमानी कि त्यस्ता चौबाटोमा सवारी साधनलाई पूलबाट वा सुरुङ्गबाट पठाउने गरी बनाउनु बुद्धिमानी ? त्यस्तो आकासे पुलमा हिँडन गाह्रो हुने पाका मानिस मात्र होइन केटाकेटी पनि उक्लन गाह्रो पर्ने पुल निर्माणले सरोकारवालाको अल्पबुद्धि र हेपाहा प्रवित्ति नै झल्काउँछ । त्यसबाहेक, असुरक्षित पुलबाट खसेर हुने दुर्घटनाले थप चिन्ता बढाएको छ । बाटोघाटोको दुबैतिर हावाहुरीले सजिलै नभाँच्ने रुख र खाली ठाउँमा आकर्षक रैथाने फूल बिरुवा लगाउनु पर्नेमा विदेशीको त आची नै प्यारो भएझै आयातित विरुवा किन लगाउने होला ? त्यही पनि कमजोर जातका । हुरीबतास थाम्नै नसक्ने । नेपाली रैथाने बोट बिरुवा लगाए हुँदैन भन्या ? किन विदेशी विरुवा चाहिने सडक छेउको बृक्षारोपणमा ? कि विदेशी प्रभूको दानको प्रचार गरेको हो प्यादाहरूले ? पार्क वा उद्यान ? सहरी विकासको नाममा खाली जमिन देख्यो कि हडप्नेतिर उन्मुख छन् । पहुँचवालको अभावमा हडप्न नसके धनिका यातायात राख्ने ठाउँ बनाउँछन् नभए सार्वजनिक भवन भनेर सीमित व्यक्तिको स्वार्थमा प्रयोग गर्छन् । कहिँ नचाहिने भए पनि उद्यान बनाएर राजश्व सक्छन् । उद्यान बनाउँदा पाका मानिस बस्न, थकाई मार्न र व्यायाम गर्न कुनै व्यवस्था हुँदैन । त्यही उद्यानलाई आयआर्जन गर्ने उत्पादन उन्मूख रैथाने फलफूल उत्पादन थलो बनाउनुको साटो बिदेशी फूल विरुवा देखाउने ठाउँ पो बनाउँछन्, सरोकारवाला कस्ता विदेशभक्त ? नेपाली हावापानी टिकाउ फूल, जडिबुटी र औषधिजन्य विरुवा लगाए हुन्न र ? बरु चराचरुङ्गी र साना स्तनधारीलाई मनपर्ने कालीकाठ, क्यामुना, रुद्राक्ष, बर्रो, बयर, अमला, तेजपात, दालचिनी, काफल, बकैनो, रातपाते, फलामे, पलाँस, बैँस, धुपी, गुराँस, श्रीखण्ड, रुद्राक्ष, जाई, जुही, सजिवन, सयपत्री, मखमली, लालुपाते, आदि जस्ता बहुउपयोगी नेपाली बिरुवा लगाउने बारे कसैको ध्यान गएका पाइँदैन । स्थानीय मालीलाई त रैथाने ज्ञान नै बढि होला ? कि बगैँचे पनि विदेशी भर्ना गर्ने ? बोटविरुवा गोडमेलको काममा इच्छुक पाका नागरिकलाई पनि लगाउन सकिन्छ । परम्परागत माली व्यवसाय गर्ने मात्र होईन बहुसंख्यक नेपाली कृषिसँग परिचित भएकाले बगैँचा निर्माण गर्न श्रमशक्तिको खाँचो हुँदैन । भएका र निर्माण हुने बगैँचा वा उद्यान वा पार्क कम्तीमा पाका मानिस र केटाकेटीमैत्री बनाउने मगज कहिले बन्ला ? विद्यालय वा तालिम केन्द्र ? नेपालमा शिक्षाका सबै कुरा केटाकेटी र वयस्क केन्द्रीत छन् । बरु थोरबहुत महिला वा कन्या विद्यालय बनेका छन् । धेरै होइन अलिकति पढे लेखेका किशोर किशोरी र वयस्कहरू समेत विभिन्न बहानामा पलायन हुनेक्रम तीब्र छ नेपालमा । जनसंख्याको बृहत मात्रा पाका मानिसको रहने स्थिति र अधिकांश निरक्षर पाका नेपालीलाई साक्षर नै नबनाएर समाज कसरी अगाडि बढ्छ ? घर व्यवहारमा बढी संलग्न पाका महिला त बढी निरक्षर भेटिन्छन्, एकल महिलाको साक्षर अवस्था त अझ न्यून छ । विभिन्न जातिलाई आरक्षण दिएर अवसर दिए देश विकास हुन्छ भन्न र गर्न जान्ने अहिलेका नेपालीले पाका मानिसको बहुसंख्या निरक्षरी भएको चाहीं प्राथमिकताका साथ शैक्षिक कार्यक्रम चलाउन किन भन्न नचाहेका होलान ? श्रम बजारको आधाभन्दा बढी संख्या ओगटेका पाका मानिस साक्षर भए घर बाहिर मात्र होइन घरभित्र पनि कति थप काम हुन्छ ? संलग्न व्यवसाय र कारोबार मात्र होइन साक्षर पाका मानिसबाट घरायसी लेखपढको काम र बालबालिकाको पठनपाठनमा निकै मद्दत पुग्दछ । पाका मानिसलाई लेख्न पढ्न सिक्ने आधारभूत विद्यालय स्थापनातिर किन ध्यान नगएको होला ? उनिहरू साक्षर भए पारिवारिक काममा कार्यालयहरूमा जान, किनमेलमा जान सघाउने मात्र होइन उनीहरू आफै बैँक कारोबार गर्न, अस्पताल जान र भ्रमणमा जान साथी चाहिँदैन थियो । टाठाबाठाको कमाउने भाँडो चुनाव जस्तो प्रक्रियामा त्यसो भए मत बदर कम हुन्थ्यो होला । आफूलाई फाइदा हुने काम गर्न नि नजान्ने, कस्ता नाइकेहरू भएको समाज भयो नेपालमा ? बजारमा नयाँनयाँ प्रविधिबाट विकसित भएका घरायसी प्रयोजनका लागि रेडियो, टिभी, मोबाइल, कुकर, माईक्रोओभन आदि उपकरण आएका छन् । सक्नेले घरमा भित्र्याउने र आफूसँग पनि छ भनि देखाउने होड्बाजी नै छ । पाका मानिसलाई त्यस्ता सामाग्री र उपकरणको सामान्य ज्ञान दिने अल्पकालीन कक्षा खोई ? ‘बुढाखाडालाई के थाहा ? जान्दैनन्’ भनेर बस्दा घाटा त परिवार र समाजलाई नै पर्छ नि । काम नहुँदा पाका मानिसले सञ्चारका साधनलाई प्रयोग गरेर समय बिताउन सक्छन्, उस्तै उस्तैकाबीच सम्बन्ध राख्न सक्छन र आफूलाई परेको सुख दुःख साटफेर गरेर मन बुझाउन पाउँछन् । यसबाट उनीहरूमा नैराश्य र गनगन पनि कम हुन थाल्छ । किनकी व्यस्त रहने उपाय भेटिन्छ । साधन भएमा उनीहरूले घरका मानिस बाहिरहँदा आवश्यकता अनुसार खवर गर्न, जानकारी दिन र उचित सहयोग गर्न सक्छन् । घरायसी आधुनिक सामान प्रयोग गर्न पाका मानिसले जाने घरका अरुलाई भातभान्छामा समेत सहयोग नै पुग्छ । अस्पताल वा स्वास्थ्यकर्मी ? कम्पनीकोे एजेण्ट जस्तो औषधि बिकाउने व्यवहार गर्ने होस् वा साँच्चै रोगव्याधको निदान गर्न जान्ने चिकित्सक वा स्वास्थ्यकर्मी अचेल धेरै विषयका धेरै पाइन्छन् । महिला, सुत्केरी, बाल-बालिकाका विज्ञ चिकित्सक पनि प्रशस्तै भए । शरीरका अङ्गअङ्गका बिज्ञ पनि भेटिन्छन् । ठाउँठाउँ सरकारी नाम टाँसेका, टुङ्गो व्यवहार नभएका र पहिलेकाले सुरु गरेका अस्पताल बाँकी छन् । कैयौं त्यहाँका प्राविधिक हाम्रै करको पैसामा बिज्ञ कहलाईएका र अनुकूलमा निजी पसल पनि खोलेका पाइन्छन् । जनताले तिरेको कर खर्च गर्ने तर सेवा सुविधा नास्ती भएर दिनभरी कर्मचारी खण्डहर जस्ता स्वास्थ्य कार्यालयमा उडन्ते गफ चुटेर बस्ने अवस्था छ । त्यसैले गर्दा नै पैसा खर्च गर्न मनलागे मोटरमा ओसार्नेदेखि हेलिकप्टरमा लैजानेसम्म पनि नेपालमा निजी अस्पताल टोलटोलमा भईसके । रोग पत्ता नलागेर वा औषधि नभएर हो, अचेल योग अभ्यास केन्द्र, ध्यान केन्द्र र फिजियोथेरापी केन्द्रहरू फालाफाल भेटिन्छन् । पैसा कमाउन ब्यस्त अस्पताल र उपचार केन्द्र पनि कति कति ? चिया र मदिरा बिक्री पसल अनगिन्ती भए जस्तै छ अस्पतालको संख्या र बितरण । पृथ्वीभरी धेरै भएर पनि माटो खान मिल्दैन भनेझैँ धेरै अस्पताल र बिज्ञ स्वास्थ्यकर्मी भए पनि खोई त पाका मानिसका बिज्ञ र पाका मानिसका लागि अस्पताल ? बलिया बाङ्गा जस्तो होइन, उमेरदार पाका मानिसलाई अस्पतालमा सहयोग गर्ने स्वयमसेवकलगायतको खाँचो पर्छ । धेरै उमेर र कमजोर स्वास्थ्य अवस्था रहेकाले उनीहरूका लागि नाम लेखाउने, जँचाउने, औषधि लिने र सहज घर पुग्न बाटो देखाउने सहयोगी हुनुपर्छ । सबै पाका मानिसमा चिकित्सकले भनेको कुरा बुझ्ने क्षमतास्तर र धैर्य नहुन सक्छ । औषधिको मात्रा, सेवन विधि, पथ परहेज, आराम, व्यायाम र त्यसपछि फेरि किन सम्पर्क गर्ने आदि कुरा बुझाउने र सम्झाउने पनि अस्पतालमा हुनुपर्‍यो । त्यस्तो अस्पताल भनेको भवन र तलव खाने कर्मचारी मात्र होइन पाका मानिसको मनोबिज्ञान र तिनका बिगत गम्भीरतापूर्वक बुझबुझारथ गरेर मात्र औषधि लेखिदिने धर्यवान चिकित्सक पनि हो । बिज्ञको नाममा मूलपण्डितले सूत्र मात्र भनेझै विरामीसँग भेटे जस्तो मात्र गर्ने चिकित्सक पाका मानिसका लागि के काम ? उस्तै र एकै खालका रोगमा पनि उमेरजन्य र भोगेको परिस्थितिको कारणले औषधिको मात्रा र सम्मिश्रण फरक फरक असर पर्नसक्छ । औषधि कहाँ बनेको हुन्छ ? नेपालको हावापानीमा मिल्छ मिल्दैन ? कति मात्रा मिल्छ ? कुन मानव समूह वा समुदायलाई मिल्छ ? यस्ता विषयमा अनुसन्धान गर्न उत्सुक वा गरिरहेका चिकित्सक भए पो लेखिदिएको औषधि ठ्याक्क लाग्छ । कम्तीमा पाका मानिसबारे अध्ययन गरेका केहि स्वास्थ्यकर्मी भए त अलिअलि आश गर्नु हुन्थ्यो, छैनन् त्यसैले चमत्कारी चिकित्सकको खोजीमा छन् सर्वसाधारण । यसैको फल होला समान अध्ययन भएका चिकित्सक भए पनि ‘त्यो नराम्रो यो राम्रो, फलानो त भगवान नै जस्तो फलानो त बगडे जस्तो’ भन्ने स्थितिमा छौं सबै जना । यो परिस्थिति परिबर्तन हुनु अति जरुरी भईसक्यो । बजार उत्पादन आधुनिकता र छरितोपनाको भ्रममा हिजोआज सबै कुरा मसिना, साना र छोटकरी भन्ने हावा चलेको छ । के यस्ता कुरा सबै मानवमैत्री छन् त ? बालबालिका, दृष्टिशक्ति कमजोरी भएका र पाका मानिसमैत्री छन् त ? किन केटाकेटी विद्यालयमा ठूलाठूला अभ्यास चित्र र भित्ते पत्रिका हुन्छन् होला ? पाका मानिस टाढाको भन्दा नजिकको कुरा बढी देख्दैनन्, दूरदृष्टि कायम भए पनि सुक्ष्म दृष्टि नभएका नै पाइन्छन् । त्यसैले त उमेरमा सियोधागो र पोते दियोको उज्यालोमा उन्ने महिला पाका भएपछि, ‘लौन, काँडा बिझेको छ देख्दिन, झिकिदेओ न । नङ बढेर ठोस्सिन लाग्यो काटीदेओ न । लौन, सियोमा धागो हालिदिए फाटेको सिएर लाउँथे’ भन्दै सहयोग लिन आउँछन् । कयौँ वर्ष पठनपाठनमा लागेका गुरु नजिक नदेखेर लेखपढ कम गर्छन् । यस्ता समस्यामा बजारमा आएका विविध चस्माले भरथेग गरेको छ । तर घरायसी सामान र उपकरण झन ख्याउटे हुँदै गएकाले तीक्ष्ण दृष्टि भएका वयस्कले मात्र प्रयोग गर्नु पर्ने स्थिति बनेको छ । बालबालिकालाई शैक्षिक कामका लागि, पाका मानिसलाई सम्पर्क गर्न, समय बिताउन र आधुनिकतासँग जानकार हुन त्यस्ता सामाग्री त अलि ठूला आकार र अक्षर भएका हुनुपर्ने हो । रोगव्याधको महामारी पछि पठनपाठनमा मोबाइल र काखे कम्प्युटर प्रयोग गर्ने पूँजीपति शैक्षिक संस्थाहरू र सरकारको उर्दी पनि सकेसम्म अनलाइन भन्ने नै चौतर्फी भयो । नियमित यस्ता कामले बालबालिकाको दृष्टिशक्ति मात्र होइन सँधै घोसेमुण्टो लाएर बस्ने भएर स्नायु प्रणाली र मनोबिज्ञानमा कति नकारात्मक असर गरेको छ भन्ने लेखाजोखा त कसैले राखेन होला ? केटाकेटी र पाका मानिस मात्र होइन वयस्कहरू नै एकै कोठामा बसे पनि कुरा नसुन्ने हुनुमा आधुनिक पूँजीवादको बजारले हालीमुहाली गरेको हेक्का राख्नु पर्ला है । त्यस्तै, पाका मानिसको दृष्टि क्षमता बिचार गरी मोबाइल र अन्य उपकरणमा लेखिएका अक्षर ठूला भए पो प्रयोगमा सहजता आउँथ्यो । हुँदाहुँदा औषधि भएको सिसी वा कागजमा नाम ठूलो देखिए पनि बनेको मिति, म्याद गुज्रने मिति, बनेको कम्पनी र औषधिको मिसावट अवयव यति साना अक्षरमा हुन्छन कि वयस्कलाई पनि हम्मेहम्मे पर्छ । पाका मानिसलाई ती व्यापारी र पूँजीपतिले स्वतन्त्रतापूर्वक आत्मनिणर्य गर्न र औषधि छान्न पनि बेवास्तै गरेका छन् । अनि उनीहरू सँधै अरुकै भरपर्नु पर्ने, भर गर्दा र सहयोगको लागि भन्दा ‘कति सोधिरहेको एउटै कुरा ? कति गनगन गरेको ? भनें त एकचोटी । आफ्नो बिर्सने बानी, हाम्लाई गनगन’ जस्ता बाणबाट मर्माहत हुनुपर्ने । सामान विक्री गर्न बनाउने हुन र व्यापार कमाउनाको लागि नै गर्ने हुन् । ठाउँमा बसेका सरोकारवालाले हाम्रो वजारमा यस्ता बान्कीको सामान बेच्न पाइन्छ भनि उर्दी जारी गरे व्यापारीले त्यहीअनुसार गरिहाल्थ्यो । अनुमति दिने पनि त जनपक्षीय र मानिसमैत्री हुनुपर्‍यो नि । ऊ र उसको डफ्फाले व्यापारीबाट मनग्य भित्रि रकम पाएपछि त बजारवादी भएर व्यापारीकै साक्षी बसेर उल्टो सर्बसाधारणलाई पो उल्याउन बडप्पन ठान्छन् बा ! अन्त्यमा, विकासको भद्दा मृगतृष्णा देखाएर भौतिक विकासको मिहिन नसामा बानी बसालेर समाजका छट्टुहरू आधारभूत आवश्यकता भित्रपर्ने मानसिक तथा शारीरिक विकासको अवधारणा कलुसित पार्दैछन् । सर्वसाधारणलाई बाँच्नका लागि उपभोगका सामाग्री सहज आपूर्ति गर्नु भन्दा आफ्नो र आफ्ना प्यादाहरूको पृथ्वीमा नै छाडेर जानुपर्ने बैभव बटुल्न व्यस्त छन् । केही लाभका ठाउँ ओगटेका र तिनका मतियार बाहेक उनीहरूबाट सबैजसो बालबालिका, वयस्क र पाका मानिसहरू आक्रान्त छन् । बालबालिकालाई सकेको हेरबिचार गरिने अवस्था र वयस्क कसै गरी आफ्नो काम फत्ते गर्छन् भन्ने मान्दा नेपालमा होचो अर्घेलोमा परेका त कूल वयस्क संख्याको पाँच भागमा एक भाग रहेका पाका मानिस नै पर्दछन् । वर्तमान आधुनिकतारुपी षडयन्त्र-खुलाबजार अवधारणाको नाममा सर्बसाधारण मात्र होइन पाका मानिस समेत बजारीकरणको मारमा परेका छन् । यस्ता कुव्यवस्था सल्ट्याउने मानिस र समूह एक दिन कसो नआउँलान् ? हामीलाई वेवास्ता गरेर न विकास हुन्छ न समाज उँभो लाग्छ, साँचो ताल्चा कव्जामा लिनेले बेलैमा चेते हुन्छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्