यू-१८ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै
काठमाडौं - भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग खेल्ने छ ।
जारी च्याम्पियनसिपमा लगातार हार व्यहोरेको नेपालले आज अन्तिम खेलमा बलियो टोली बंगलादेशसँग खेल्न लागेको हो ।
जमसेदपुरमा हुने खेल बेलुका ७:१५ बजे सुरु हुनेछ।
आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगालदेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।
च्याम्पियनसिपको पहिलो भेटमा नेपाल बंगलादेशसँग ४-२ गोल अन्तरले पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहन्छ । बंगलादेश भने जितलाई कायम राख्न चाहन्छ ।
तीन राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले अंक जोड्न सकेको छैन । ३ खेलमा अंक विहीन नेपाल पुछारमा रहेको छ ।
च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।