नेभिगेशन
समाज विविध

भ्रष्टाचार अभियोगमा रास्वपा नेताविरुद्ध अख्तियारमा उजुरी, गत चुनावमा सुनसरी–३ का उम्मेदवार थिए

इटहरी– सार्वजनिक सम्पत्तीको आम्दानी भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालविक्रम थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

१५ बर्षका लागि इटहरी–९ बुधबारे हटिया लाइनको जग्गा भाडामा लिने सम्झौता विद्यालयसँग गरेर फलामको ट्रष्ट हालेर अस्थायी भवन बनाउनु पर्ने भएता पनि घर नक्सा पास नगरी व्यवसायिक भवन निर्माण गरी हानि नोक्सानी र अख्तियारको दुरुपयोग गरेको भने रास्वपा कोशीका महामन्त्री लालविक्रम थापाविरुद्ध उजुरी दर्ता भएको हो। 

व्यवसायिक पक्की भवन निर्माण गरेर महङ्गो भाडामा लगाएर उठेको भाडा बापतको रकमको केही अंश नगर प्रमुख, वडा अध्यक्ष, निवर्तमान व्यवस्थापन समिति प्रधानाध्यापकलाई घुस दिइने गरेको पनि उजुरीमा उल्लेख छ। 

त्यसरी घुस दिएपछि विद्यालयलाई बुझाउनु पर्ने भाडा रकम कार्यपालिका बैठकबाट मिनाहा गराउन सबै मिलेर योजना बनाई संगठीत रुपमा अख्तियारको दुरुयोग भएको उजुरीमा उल्लेख छ। अख्तियारको इटहरीस्थित प्रादेशिक कार्यालयमा साउन २ गते सी ००२१५५ नम्बरमा उजुरी दर्ता भएको अख्तियारले जनाएको छ।

इटहरी उपमहानगरपालिकाका प्रमुख, वडा नं  ९ का वडा अध्यक्ष, निवर्तमान विद्याालय व्यवस्थापन समिति र प्रधानाध्यापक समेतको मिलोमतोमा विद्यालयको नाममा रहेको अचल सम्पत्तिको संरक्षण गर्नुपर्नेमा अतिक्रमण भएको जग्गा विद्यालयको नियन्त्रणमा ल्याउन कुनै पहल नगरी नाजायज फाइदा लिइएको उजुरीमा उल्लेख छ।

जनता माध्यामिक विद्यालयको सो जग्गा मासिक १ लाख ७ हजार ५ सय १ रुपैयाँ भाडा तिर्ने सर्तमा सनमुन प्लाजाले ०७५ साल चैत्र २१ गते सम्झौता गरेको थियो। थापा समेतको सो कम्पनीले सम्झौता अनुसार २०७६ साउन १ गते देखि लागु हुने गरी मासिक १ लाख ७ हजार ५ सय १ रुपैया भाडा तिर्ने र प्रत्येक दुई बर्षमा १० प्रतशित भाडा बृद्धिको प्रावधान सहित १५ बर्षका लागि सम्झौता गरेको थियो। 

सम्झौता अनुसार २०८१ सालको चैत्र मसान्तसम्मको अवधि ५ बर्ष ९ महिनाको भाडा रकम कुल ८१ लाख ५१ हजार ६५० रुपैयाँ ८१ पैसा हुने उल्लेख छ। तर हालसम्म  लालबिक्रम थापा लगायत सनमुनले   विद्यालयलाई ७ लाख ४१ हजार ५ सय रुपैयाँ मात्र प्रदान गरेको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।  

प्लाजाबाट बाँकी ७४ लाख १० हजार १५० रुपैयाँ ८१ पैसा विद्यालयले भाडा वापतको पैसा पाउन बाँकी देखिको तर हालसम्म भाँडा दिने बिषयमा थापाले चासो नदेखाएको अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख गरिएको छ। 

विद्यालयका प्रधानाध्यपक पशुपति सिग्देलले सनमुन प्लाजाका संचालक लालबिक्रम थापा लगायतका व्यक्तिहरुलाई पटक–पटक बाँकी रकम तिर्न आग्रह गर्दा पनि कुनै चासो नदेखाएको भन्ने गरेको पाईएको अख्तियारमा दर्ता गरिएको उजुरी पत्रमा उल्लेख गरिएको छ। 

अख्तियारमा दर्ता गरिएको उजुरी पत्रमा भनिएको छ,‘सनमुन प्लाजाका मुख्य संचालक लालबिक्रम थापा राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश महामन्त्री रहेको बुझिएको छ। थापालाई यहि बिषयमा पार्टीले बिगत १ बर्ष अगाडि कारवाही स्वरुप निलम्बन गरेकोमा उल्लेखित भाडा वापतको रकम विद्यालयलाई बुझाउछु भनी लिखित कागज गरेपछि  निलम्बन फुकुवा गरेको भन्ने बुझिएको छ।’

थापाले उक्त भाडा वापतको बक्यौता रकम नतिर्न इटहरी उपमहानगरपालिका, वडा कार्यालय, विद्यालयको निवर्तमान व्यवस्थापन समिति र प्रधानाध्यापक सबैको मिलोमतोमा घरेलुमा गएर निः शुल्क शेयर दिएको तर पुरानो दायत्वि आफनै हुने गरी आँखामा छारो हाल्न सनमुन प्लाजा नामसारी गरेको देखिएको दावी उजुरी पत्रमा छ। 

थापाले भने यो विषयमा आफूसँग कुनै सरोकार नभएको भनी दाबी गरेका विवरण सतहमा आएका छन्। उनले अटेर शैलीमा भन्ने गरेका छन्,‘जता जता उजुरी हाले पनि हुन्छ।’ उनले राजनीति सिध्याउनका लागि रास्वपाभित्रका र बाहिरका मानिसको मिलोमतो रहेको पनि दाबी गरेका विवरण प्राप्त भएका छन्।

उनले भनेका छन्,‘मेरै पार्टीका साथीहरुले म विरुद्ध अख्तियारमा उजुरी हालेका हुन्। उजुरी हाल्ने व्यक्तिलाई पनि म नजिकबाट चिन्दछु।  पहिलो कुरा त म त्यो कम्पनीबाट कानुन अनुसार नै अलग भईसकेको व्यक्ति हो।  कानुनी रुपमै कम्पनीमा नभएको व्यक्तिको  नाम जोडिरहन्छन् भने कसको के लाग्छ र।’

इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जितेन्द्र थापाले विद्यालयले आफ्नो कार्यकालमा नभई अघिल्लो वडाअध्यक्षको कार्यकालमा जग्गा भाडामा दिने सम्झौता गरेको जानकारी दिए। अघिल्लो कार्यकालका वडाअध्यक्ष भूपेन्द्र बराललेलाई पनि थाहा नै नदिई विद्यालय व्यवस्थापन समितिले लालबिक्रम थापा सहितको टोलीसँग जग्गा भाडामा दिनका लागि सम्झौता गरेको थापाले बताएका छन्।

थापा ०७९ को प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट चुनावमा प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचनमा उनी एमालेकी भगवती चौधरी र कांग्रेसका बिजयकुमार गच्छादारभन्दा पछि परेर पराजित भएका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध