नेभिगेशन
राजनीति

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छ : गगन थापा

ललितपुर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका विषयमा कांग्रेसले ध्यान दिनुपर्ने बताएका छन् । 

नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना’ विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री थापाले हरेक छलफलको टिपोट गरी स्थानीय सरकारसम्म कार्यान्वयनका लागि जोड दिने बताए । 

'युवालाई प्रविधिमार्फत समस्याको समाधान गर्दै उत्पादन, उद्यमशीलता र रोजगारी सृजना गर्नतर्फ जोड्नुपर्छ, नागरिकका समस्याको बारेमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा छलफल हुने गरेको छ, यसलाई कार्यान्वयन र नतिजासँग जोड्नुपर्छ, सरकारमा गइसकेपछि के गर्ने हो, के गर्ने हैन भन्ने विषयमा हुने छलफल महत्वपूर्ण हुन्छ,' उनले भने ।

महामन्त्री थापाले छलफलबाट प्राप्त हुने नीतिगत ज्ञानको कार्यान्वयनबाट नतिजा ल्याउनुपर्नेमा जोड दिए । 'नीतिगत सम्भावनाले उजागर गर्ने विषयमा धेरै बहस भएको छ, कृषि क्षेत्रका विषयमा विस्तारै फरक तरिकाले बहस सिर्जना गर्दै जानुपर्ने छ, प्रदेश र स्थानीय तहमा धेरै ठाउँमा हाम्रो नेतृत्व छ, प्रत्येक स्थानीय तहमा आफ्नो क्षेत्रभित्र रोजगारी सिर्जना गर्ने, उद्यमशीलता विकास गर्ने नीति हुनुपर्छ,' उनले भने ।

महामन्त्री थापाले कांग्रेसले विरोधको राजनीतिमा भन्दा उत्पादन, रोजगारी, उद्यमशीलता र सम्भावनाको क्षेत्रमा ध्यान दिँदै छलफल बहसमार्फत समृद्धिको राजनीतिमा ध्यान दिनुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति