नेभिगेशन
राजनीति

विद्या भण्डारीतिर खुलेका नेतालाई कँज्याउन पोखरेलको ‘बरिष्ठ’ खारेजीको तयारीमा एमाले सचिवालय

काठमाडौं– पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा पुनः प्रस्थान गरेपछि छटपटाएका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताको दबाबमा नयाँ–नयाँ तयारी हुन लागेको छ।

यसको पहिलो निशानामा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पारिएको छ। विहीबार बस्ने सचिवालय बैठकले आगामी विधान महाधिवेशनबाट बरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने प्रस्ताव पारित गर्ने तयारी भएको हो।

भदौ २०, २१ र २२ गते गोदावारीमा हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेको खण्डमा पोखरेल बरिष्ठबाट घटुवा भई उपाध्यक्ष मात्र हुनेछन्। उक्त पद पोखरेलको व्यवस्थापनका निम्ति नै १०औं महाधिवेशनका क्रममा सृजना गरिएको थियो।

पछिल्ला दिनमा विधानको ७० बर्षे सीमा र दुई कार्यकाल मात्र नेतृत्व लिन पाइने विषयको पैरवी गर्दै पोखरेल भण्डारीको पक्षमा खुलेका छन्।

सचिवालयको बैठक च्यासलमा बस्न लागेको छ। ७० बर्षको सीमा र दुई कार्यकालको विषय विधान सम्मेलनले पारित गरे पनि यसअघि सचिवालयको बैठकमार्फत नै निर्णय गरेर हटाइएको थियो।

‘सचिवालय नै गर्ने हो भने विधान महाधिवेशन या सम्मेलन किन आवश्यक हुन्छ? महाधिवेशन प्रतिनिधिले अनुमोदन गर्ने विषयमा सचिवालयले हस्तक्षेप गर्न मिल्छ?’, एमालेका एक नेताले भने,‘यो पनि मनपरी भयो नि।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति