नेभिगेशन
राजनीति

‘कान खोलेर सुन्नुहोस्’ भन्दै संसदमा सोविताले दिइन् यस्तो जवाफ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले आफूले मंगलबारको प्रतिनिधिसभामा बोलेको धारणा नेपाली भाषा बुझाइमा समस्या भएकाहरूले मात्रै नबुझेको बताएकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा धारणा राख्दै सांसद गौतमले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेर नभनेको बताइन् । उनले प्रधानमन्त्री गएको कार्यक्रममा गएर कोही फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर रहेको बताइन् । 

उनको भनाइ जस्ताको तस्तै :

हिजो मैले संसद्मा राखेको विषयवस्तु हटाउन माग पनि भएको रहेछ । हामी सदन बहिस्कार गरेर गएपछि पछि थाहा भयो । प्रधानमन्त्रीको सचिवालयबाट चुनौती पनि आएको रहेछ । केही माननीयज्यूहरूले बतासे केटाकेटी पनि भन्न भ्याउनु भएको रहेछ । 

रास्वपा जिम्मेवार पार्टी हो । जिम्मेवार पार्टीको जिम्मेवार सांसद भएको कारण म केही आफ्ना कुरा सबैको जानकारीका लागि र स्पष्टताका लागि पुनः एक पटक राख्न चाहन्छु । 

मैले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन । राम्रोसँग कान खोलेर सुन्नुहोस् । हिजो बोलेको वाक्य पुनः दोहोर्‍याउन चाहन्छु । स्वयं सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा केही मानिसहरू कार्यक्रमको बहाना बनाएर सहभागी हुने बहानामा गएर भन्ने लगायतका समाचारहरू आइरहेका छन् । 

मैले भनेको वाक्य यति नै हो । प्रधानमन्त्री गएको कार्यक्रममा गएर कोही फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ । 

मेरो भनाइ रेकर्डबाट किन हटाउने ? सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउन पर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ त्यो मेरो समस्या होइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति