नेभिगेशन
राजनीति

‘रविको पक्षमा वकालत गर्ने अनि पार्टी कार्यालय जाने पोखरेल सर्वोच्च न्यायाधीशमा अयोग्य हुन्’

काठमाडौं– सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरिएका बरिष्ठ अधिवक्ता मेघराज पोखरेलविरुद्ध सुनुवाई समितिमा उजुरी पुगेको छ।

पोखरेललाई न्याय परिषदले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गरेको थियो। टीबी कार्कीले सुनुवाई समितिमा उजुरी दिँदै ‘अदालतको आदेशविपरित नै बोल्ने मानिस न्यायाधीशका लागि मनासिब व्यक्ति नहुने’ जनाएका छन्।

उनको उजुरी निवेदन समितिको २१ नम्बरमा दर्ता भएको छ। जेठ २७ गते बसेको न्याय परिषद्को बैठकले  पोखरेलको नाम प्रस्ताव गरेको थियो। उजुरी निवेदनमा पोखरेल न्यायाधीश हुन नै अयोग्य भएको दाबी गरिएको छ। 

पोखरेलले उच्च अदालत दाङ तुलसीपुरको बुटवल इजलासले तथ्य र प्रमाणसहित सहकारी ठगीमा पुर्पक्ष लागि थुनामा पठाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विषयमा गरेका टिप्पणी र अभिव्यक्तिले उनी अदालतको आदेश नमानी अदालतको फैसलाविरुद्ध उभिएको पनि उजुरीमा उल्लेख गरेका छन्।

पोखरेल गत जेठ २३ गते रास्वपा कार्यालयमा गएर रवि लामिछानेलाई थुनामा पठाएको विषयमा छलफल गरेको पनि उजुरीमा उल्लेख छ। 

पार्टी कार्यालयमा गएर अदालतले थुनामा पठाएको व्यक्तिको पक्षमा वकालत गर्नु कत्तिको सान्दर्भिक हो? भनी उल्लेख गरिएको उजुरीमा भनिएको छ,‘कत्तिको नैतिक अथवा अनैतिक हो? प्रश्न चिह्न उठेको छ।’ 

यसरी वरिष्ठ अधिवक्ता जस्तो व्यक्तिले कुनै पार्टी कार्यालयमा गएर आरोपितको पक्षमा बोल्नु, अदालतको आदेशको अवज्ञा हुने गरी मन्तव्य राख्नु सुहाउँदो नभएका कारण न्यायाधीश बनाउन नहुने जिकिर गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति