नेभिगेशन
राजनीति

देशमा सरकार होइन, सर्कस चलिरहेको छ : सांसद शाह

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेकाले राजीनामा दिनुपर्ने माग गरेको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा रास्वपाका सांसद असिम शाहले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि प्रश्न उठेकाले राजीनामा गर्नुपर्ने बताएका हुन्। भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन गर्न नदिएर सरकार समस्याप्रति मूकदर्शक बनेको सांसद शाहले बताएका छन्। सरकार भिजिट भिसा प्रकरणको छानबिन गर्नुको सट्टा मुखदर्शक बनेर बसेकोमा आपत्ति जनाउँदै त्यसमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले माग गरे।

पीडितलाई न्याय दिने र घटनामा संलग्नलाई कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने रास्वपाको माग छ। ‘गृहमन्त्रीले यही सदनमा भन्नु भएको थियो कुनै मन्त्रीमाथि प्रश्न उठे नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। आज उहाँमाथि नै प्रश्न उठेको छ,’ शाहले भने, ‘अब उपदेश हैन आचरण देखाउने समय हो। नत्र इतिहासले उहाँलाई काफिला लुट्दा मौन बस्ने कायर रहबरको रुपमा सम्झिनेछ।’

रास्वपा संख्यामा थोरै भए पनि मुद्दामा कमजोर नरहेको शाहले बताए। एक महिनादेखि संसदमा राजनीतिक नाटक मात्र देखिएको उल्लेख गर्दै उनले युवाहरू रोजगारीको खोजीमा मरुभूमिमा पसिना बगाइरहेको बताए। उनले भने, ‘यो उनीहरूको रहर होइन, यो देश हाँक्नेहरूको असफलताले जन्माएको राष्ट्रिय विवशता हो ।’यही विवशताको जगमा देशमा लुटको संगठित सिन्डिकेट खडा भएको आरोप उनले लगाए। उनले भने, कहिले भुटानी शरणार्थीको भेषमा आफ्नै देशको नागरिक बेच्छ। कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा पचाउँछ। कहिले क्विन्टलका क्विन्टल सुनलाई ‘बिस्कुट’ भनेर भित्र्याउँछ। कहिले वाइडबडी उडाउने नाममा राज्यको ढुकुटी उडाउँछ। कहिले एयरपोर्ट बनाउने नाममा भ्रष्टाचारको ओलम्पिकमा नयाँ कीर्तिमान कायम गर्छ।’

उनले भिजिट भिसा काण्डमा सरकारले चासो नदेखाएकोप्रति आक्रोश व्यक्त गरे। उनले भने, ‘सरकार मूकदर्शक बनेर बस्दा देशमा सरकार होइन, सर्कस चलिरहेको छ जस्तो लाग्छ। ’रास्वपाले भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभएसम्म संसदमा विरोध जारी राख्ने भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि रास्वपाले वेल घेराउ गरेको छ। रास्वपाले जेठ ३० यताका प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति