नेभिगेशन
समाज विविध

महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी -असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन् । असार सङ्क्रान्तिका दिनदेखि पानी पर्न थालेसँगै महोत्तरीमा सर्पदंशका घटना बढेका हुन् ।

असार पहिलो साताभित्र २५ जना सर्पदंशका बिरामी उपचार लिन आएका सर्पदंश उपचार केन्द्र बर्दिबासले जनाएको छ । पानी पर्न थालेपछि तराईका जिल्लामा सर्पदंशका घटना बढ्ने गरेका केन्द्रमार्फत नेपाली सेनाको उपचार टोलीमा सहभागी प्राविधिक प्रमुख भोला चौधरीले बताए । 

“गर्मीयाम र पानी परेपछि सर्प दुलोबाट बाहिर निस्कने हुँदा यस्तो बेला घटना बढ्छन् । गर्मीमा हावा खान र वर्षामा दुलो पानीले भरिँदा सर्प बाहिर निस्कने र यस्तै बेला सर्पदंशका घटना बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन जरुरी छ”, उनले भने । 

सामान्यतया साउनमा बढी पानी पर्ने भएकाले सर्पदंशका घटना साउनमा बढी हुँदै आएका केन्द्रले जनाएको छ । वर्षा र बढी गर्मीका कारण पनि सर्प दुलोबाट बाहिर निस्कने भएकाले वैशाखदेखि आवश्यक सतर्कता अपनाउन केन्द्रका प्राविधिक प्रमुख चौधरीले सबैलाई आग्रह गरे ।

विसं २०७१ साउन ३१ गते सञ्चालनमा आएको केन्द्रले हालसम्म ३१ हजार ३०७ जनालाई उपचार दिएको छ । यस वर्षको वैशाखदेखि एक सय ६० जनाले उपचार लिएका केन्द्रको तथ्यांकमा उल्लेख छ । वैशाखमा ५२ र जेठमा ८५ घटना भएकामध्ये ६५ वटा विषालु सर्पले डसेका केन्द्रले जनाएको छ ।

सामुदायिक पहलकदमीमा स्थापना भई केन्द्रमा सेनाले उपचार गर्न तालिम प्राप्त छ जना दक्ष प्राविधिक जनशक्ति उपलब्ध गराएको छ । सर्पको उपचारमा प्रयोग गरिने ‘एन्टी स्नेक भाइल’ र कार्यालय सञ्चालनको व्यवस्थापन केन्द्रको सञ्चालक बोर्डले तथा उपचार नेपाली सेनाका तालिम प्राप्त दक्ष प्राविधिकले गर्दै आएका छन् ।

सर्पको खानी भनिने बर्दिबास नगरपालिका–१, २, ३ र १४ का वडा बस्तीमा विगतको तुलनामा सर्प घटेका पाइएको केन्द्रको सञ्चालक बोर्डका अध्यक्ष कृष्ण देवकोटाले बताए । जताततै पर्ति जग्गा खनजोत गर्ने र घर बनाउने क्रम बढेसँगै १० वर्ष पहिले भन्दा अहिले यहाँ विषालु सर्प घट्दै गएका उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध