नेभिगेशन
राजनीति

'सन्दुकदेखि कुलमान अनि राजेशदेखि अनिलकेशरी सम्मलाई रास्वपा सभापति प्रस्ताव गरेको थिएँ'

काठमाडौं– जिल्ला कारागार (जेल) रुपन्देही भैरहवामा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेलबाट सन्देश जारी गर्दै केही नयाँ विषय खुलाएका छन्।

रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा उनले जारी गरेको सन्देशका क्रममा आफू सभापति बन्ने आकांक्षामा नभएको बताएका छन्।

पार्टी गठनका बेला आफूले सन्दुक रुइतदेखि कुलमान घिसिङ अनि राजेश हमालदेखि अनिलकशरी शाह विभिन्न व्यक्तिलाई नेतृत्व गरिदिन बिन्ती गर्दा पनि कसैले नमानेपछि आफू सभापति बनेको दाबी गरेका छन्। 

यद्यपि उनले नाम लिएका व्यक्तिले यस विषयमा हालसम्म पनि कुनै टिप्पणी गरेका थिएनन्। 

पार्टीको तेस्रो स्थापना दिवसका दिन असार ७ गते भैरहवा जेलबाटै लिखित सन्देश जारी गर्दै रविले उक्त कुरा खुलाएका हुन्। 

‘सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म, राजेश हमालदेखि अनिलकेशरी शाहसम्म, यस्ता कैयौँ व्यक्तिसँग पार्टीको नेतृत्व गरिदिन हारगुहार गरेँ। कसैले विश्वास नगरेपछि मात्रै म आफैँ सभापति भएर पार्टी दर्ता गरेको हुँ’, उनले लेखेका छन्।

उनले नाम लिएका मध्य शाह अहिले रास्वपामा छन्। उनले केही समयअघि मात्र प्रशिक्षण विभागबाट विदा लिएका थिए।

‘पार्टी खोलिसकेपछि पनि नेतृत्व लिनुस् वा कम्तीमा पनि उम्मेदवार बनिदिनुस् भनेर कैयौँ ढोकाहरू ढकढक्याएँ। तर, मेरो चुनाव प्रचारको समय नष्ट मात्र भयो, धेरैले मानेनन्’, उनको सन्देशमा भनिएको छ। 

लामिछानेले अगाडि भनेका छन्, ‘आज रास्वपाबिनाको प्रतिनिधिसभा कल्पना पनि गर्न सकिँदैन।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति