नेभिगेशन
समाज विविध

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौँ- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले चाँडै विनियमावली बनाएर पीडितलाई न्याय दिने बताएकी छन् ।

आयोगले आयोजना गरेको सङ्क्रमणकालीन न्यायमा पीडित र सरोकारवालासँगको अन्तरक्रियामा उनले नयाँ विनियमावली बनाउनका लागि आवश्यक छलफल गर्ने बताईन् । ‘सरकारले हामीलाई ऐन दिएको छ । अब त्यही ऐन टेकेर नयाँ विनियमावली बनाउनुछ । आयोगले वार्षिक कार्ययोजना बनाएर चाँडै काम थाल्ने छ,’– उनले भनिन् ।

सूदूरपश्चिम प्रदेशकी पूर्वप्रमुख तथा बेपत्ता पारिएका परिवारका सदस्य शर्मिला त्रिपाठीले तेस्रो पटक गठन गरिएको आयोगले बेपत्ता परिवारको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने बताईन् । उनले पीडाको भोगाइ धेरै भएकोले अब काम सम्पन्न गर्न तिर अग्रसर हुनुपर्ने धारणा राखिन् । ‘आयोग बन्दछ । अनि हामीलाई बोलाउँछ । फेरि हामीले आफ्नो पीडाका कुरा भन्छौं । अनि हामीलाई थप पीडा हुन्छ । अब आयोगले बोलाउने मात्र होइन काम गर्नुपर्दछ,’– उनले भनिन् ।

उनले छोरोछोरीलाई जेनतेन पढाए जागिर पाउन समस्या भएकोले छुट्टै आरक्षणको व्यवस्था गरेर जागिरको सुनिश्चित गर्न आग्रह गरिन् । नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले आयोग पहिले जस्तो नभएर कार्यमा केन्द्रित भइ पीडितका माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

शान्तराज मुल्मीले पीडितका आँशु पुछ्ने काम बन्द गर्न आयोगलाई सुझाव दिए । मानवअधिकारकर्मी सुवोध प्याकुरेलले नियम र काननभन्दा आपसी सहमतिअनुसार आयोगले काम सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले सरकारको भन्दा जनताको बलमा काम गर्न आयोगलाई आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देशभरका २२ स्थानमा सडक अवरूद्ध