नेभिगेशन
समाज विविध

इजरायल युद्धमा बंकरभित्र बसेका मेयर नागेश कोइराला बिराटनगर पुगिसके, सुनाए यस्तो अनुभव

काठमाडौं– इरान–इजरायल भिषण युद्धको चर्चा विश्वभर चलिरहेको छ। तर यहि परिदृश्यलाई भोग्दा भोग्दै बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनेक अनुभव सँगाले। 

उनी युद्धकाबीच स्थलमार्गबाट इजरायलदेखि जोर्डन र त्यहाँबाट कुबेत, भारत हुँदै काठमाडौंबाट बिराटनगर पुगिसकेका छन्। 

इजरालयको सिफाइम शहरबाट दुई दिनअघि स्थलमार्ग हुँदै जोर्डन र त्यहाँबाट कुवेत हुँदै आएका कोइराला विहीबार ५ बजे काठमाडौं उत्रिए, राती ८ बजे बिराटनगर पुगे। 

उनले वास्तविक युद्धलाई नजिकबाट नियाल्न पाएको बताए। आकाशबाट एकैपटक १ सय बढी क्षेप्यास्त्र जमिनमा खस्ने र त्यसपूर्व बज्ने सूचनाको साइरनले जनजीवनलाई प्रभावित बनाउने उनले बताए।

यसप्रकारको घटना टेलिभिजन र चलचित्रमा देखेको बताएका उनले भने,‘वास्तविक रुपमा घटनास्थलमा उभिएर दृष्य नियाल्दा मानसिक रुपमा तनाव हुने अनुभव मेरो पनि रह्यो।’

बेलामौका इजरायलबाट फेसबुकमा लाइभ आउने गरेका उनले प्रत्यक्ष रुपमा भने,‘इजरालयले हमास समूह, प्यालेष्टाइन गाजा क्षेत्रमा गरेको आक्रमणबारे समाचारमा हेर्दै पढ्दै आएको थिए। यसपटक नजिकबाट भोग्न पुगें।’ 

राजदुत धनप्रसाद पण्डित, राजदुतावास परिवारले सहयोग गरेका कारण फर्किन सकेको अनुभव सुनाएका उनी भन्छन्,‘दुतावासले दिएको जानकारी अनुसार इजरालयका विभिन्न क्षेत्र सरकारीतवरबाट श्रम, र अन्य विधामा पुग्ने नेपालीको संख्या करिब २ हजार रहेको छ। तर, त्यसबाहेक अन्यत्रबाट पुग्ने र काम गर्नेको अवस्था भने यकिन छैन। जारी युद्धका क्रममा उनीहरु नेपाल फर्किने भन्दापनि त्यही कसरी सुरक्षित बस्न सकिन्छ, त्यसमा बढि केन्द्रीत रहेका छन्।’

सन् १९९० अघि बनेका घरको भित्र सबैभन्दा भुइँ तल्लामा सेल्टर र बंकर बनाइएको देखेका उनी भन्छन्,‘अहिले बनेका नयाँ घरमा भने भवनको तल्लापिच्छे सुरक्षित रहने बासस्थान बनाइएको हुने रहेछ। जसका कारण मानवीय क्षति धेरै ठूलो हुने संभावना कम हुँदो रहेछ।’

विषेशगरी राति ११ बजेबाट विहान ४ बजेसम्म युद्धका घटनाक्रम, क्षेप्यास्त्र खस्ने क्रम बढि हुने उनले बताए। 

युद्धका कारण सो क्षेत्रका मानिसहरुमा मानसिक रोगको बढि समस्या देखिएको उनको भनाई छ। 

इरानले खसाल्ने क्षेप्यास्त्रबारे जानकारी मोबाइलको एप्समा आउने बताउँदै उनले मोबाइलमा सन्देश प्रवाह हुना साथ सबैजना नजिकैको सेल्टर, बंकरसम्म पुग्ने र त्यहाँसम्म नपुगे लम्पसार भएर सुतिदिने गरेको पाएको बताए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देशभरका २२ स्थानमा सडक अवरूद्ध