नेभिगेशन
मनोरञ्जन

सुरु भयो ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’

काठमाडौं– काठमाडौंको तारागाउँ नेक्सटमा विश्व वातावरण दिवसको अवसरमा ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द  वर्ल्ड’ नामक प्रदर्शनी सुरु भएको छ।

बिहीबार उद्घाटन गरिएको प्रदर्शनी शुक्रबारदेखि सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो।

कला र वातावरणीय चेतनाको संगमको रूपमा प्रस्तुत गरिएको यो प्रदर्शनी सगरमाथा नेक्सटले आयोजना गरेको हो। सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजित प्रदर्शनीको संयोजन ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले गरेकी हुन्।

उनका अनुसार, प्रदर्शनीमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रण गरिएको छ। तीन महिनासम्म चल्ने यस प्रदर्शनीमा विभिन्न स्रष्टाहरूले आफ्ना कलामार्फत वातावरणीय सन्देश सम्प्रेषण गर्नेछन्।

प्रदर्शनीमा कलाकार सलिल सुवेदीको टोलीले ‘अर्थ इमर्जेन्स’ नामक विशेष लाइभ प्रस्तुति दिएका थिए। शरीरमा रातो माटो पोतेर गरिएको यो प्रस्तुतिले मानव र माटोको सम्बन्धलाई उजागर गर्छ। उनको कला प्रस्तुति उत्तर–उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिवाकको ‘प्लानेटरिटी’ विचारमा आधारित छ।

विश्व औसतभन्दा झन्डै दोब्बर गतिको तापक्रम वृद्धिको सामना गरिरहेको हिमालय क्षेत्रको सन्दर्भमा केन्द्रित यो प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाको माध्यमबाट पृथ्वीप्रतिको सम्बन्धलाई पुनः परिभाषित गर्ने प्रयास गरेको छ।

१२ जना नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरूले वातावरणीय संकटबारे विविध दृष्टिकोण प्रस्तुत गरेका छन्। प्रदर्शनीमा हिमाली सिंह सोइन, उर्सुला बिमान्न, उत्सा हजारिका, मक्सुद अली मण्डल, समयुक्ता भण्डारी, अमित माछामासी, मोनिका उर्सिना जेगर, जोआना मोल, क्रिस जोर्डन, सौर्गङ्गा दर्शनधारी र रोबर्टिना शेबजानिकलगायतका कलाकारहरूको सहभागिता छ।

प्रदर्शनीले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बाँध्ने प्रयास गरेको छ।

0ff7441c-9e36-4aea-ac7d-4f0d87d56650-1749268478.jpg

677c8f66-f273-4511-8745-e90d6163aed8-1749268478.jpg

35571328-a903-4b2a-afc2-8f039db28487-1749268478.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्