नेभिगेशन
मनोरञ्जन

यसरी बन्यो राजेश हमाल डेब्यू फिल्मको ‘तीन पाटे डाँडा’ गीत, लेखक र कथा रोचक पात्र 

रोचक के छ भने यो गीत बलिउड गायीका आशा भोषलेले गुमाएकी थिइन्। यसको पनि कथा रहेछ

काठमाडौं– एउटा गीत हिट हुन्छ। तर त्यो गीत बन्नुभित्रका कथा झन् रोचक हुन्छन्।

प्रविधिको कमसल अवस्था र त्यहाँमाथि ९० को सुरुआत र ८० कै दशकमा हिट भएको गीत बन्नुपछाडिका कथा कस्ता होलान्? 

यो रोचक विषयलाई केलाउने प्रयास गरिएको छ। अभिनेता जसलाई महानायकको पगरी पनि दिइन्छ, राजेश हमाल। उनको डेब्यू फिल्म ‘युगदेखि युगसम्म’को गीत ‘तीन पाटे डाँडा काटेर, कहाँ जान लाग्यौ सारङ्गी दाई’ बन्नुको कथा अचम्मको छ।

यस फिल्मको यो गीतमा अभिनेत्री कृष्टी केसी र पछि मैनाली बनेकीको अभिनय रहेको छ। 

यो गीत कसले लेख्यो अनि कसरी बन्यो?

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा लोकतान्त्रिक व्यवस्थालाई स्वीकार गर्छन्। तर, उनको मतिको व्याख्याचाहिँ पञ्चायतकालिन व्यवस्थाको नजिक रहेको हुन्छ।

अहिले पनि राजसंस्था पुनस्र्थापनाको आन्दोलनमा उनको भूमिका बलियो नै रहेको छ।

तर सृजना र व्यवस्थाको तालमेलको भन्दा भाव र अनुरागसँगको सम्बन्ध बलियो हुन्छ। यसैका गतिशीलताका प्रमाण हुन् थापा।

२०४५ सालमा निर्माण भएको फिल्म ‘युगदेखि युगसम्म’मार्फत अभिनेता हमाल नेपाली रजतपटमा ‘डेब्यू’ गरिरहँदा नेता थापा पनि फिल्म गीतकारका रुपमा ‘डेब्यू’ गरे।

सायदै कमैलाई मात्र थाहा होला, यो फिल्मको एउटा चर्चित गीत ‘तीन पाटे डाँडा काटेर’का गीतकार नेता थापा नै हुन्। जुन गीतमा अभिनेता हमाल र अभिनेत्री कृष्टि मैनाली फिचर्ड छन्। दीपक रायमाझीको निर्देशनमा बनेको यो फिल्ममा छविराज ओझा र कुवेर शर्मा निर्माता थिए।

फिल्म बनाउनुपर्छ भनेर २०४५ सालको अन्त्यतिर निर्देशक दीपक रायमाझी, संगीतकार शम्भुजित बासकोटा र निर्माता छविराज ओझासहितको टिम बसेर फिल्मको खाका बनाएको थियो।

‘त्यो बेलामा सायदै त पञ्चायती व्यवस्था थियो। त्यतिखेर सञ्चारमन्त्री कमल थापा नै थिए क्यार। गीतको सबै व्यवस्था शम्भुजीत दाईले आफै मिलाउनु भयो। हामी बम्बई पनि गयौं, रेकर्डिङ पनि गर्यौं। त्यो बेला भेरिएसन थियो। हरेक स्टुडियोमा अनुराधा पौडेल, उदितनारायण, भिम्नी, विजय जेनेडिक जस्ता गायकगायिकाको स्वरमा गीत रेकर्ड गर्यौ,’ ०७७ साल अर्थात् ५ बर्षअघि छविराज ओझासँगको संवाद यस्तो थियो। 

‘सबै रेकर्डिङ गरेर आइसकेपछि सुटिङ गर्न नपाउँदै आन्दोलन शुरु भयो। त्यसपछि हामीले सुटिङ गरेनौं र चुप लागेर बस्यौं। २०४६ सालको आन्दोलन चैतमा सकियो, अनि जेठबाट तयारी गरेर असारबाट सुटिङ शुरु गरेका थियौं’, उनले सुनाएका थिए।

फिल्मको सुटिङ सकिएपछि सोही वर्ष फिल्म रिलिज भएको थियो।

गीतकार थापा र गायक प्रकाश श्रेष्ठ पुराना साथी हुन्। हेटौंडाका थापा र वीरगञ्जका श्रेष्ठको जिल्ला नजिक भएकाले पनि उनीहरूको चिनजान राम्रै थियो।

गायनमा चर्चा बटुलिरहेका प्रकाशलाई कमलले आफ्ना केही गीत गाउनका लागि दिएका रहेछन्। ती गीतमध्ये ‘तीन पाटे डाँडा’का संगीतकार शम्भुजित बासकोटाको हातमा पुग्यो।

‘कमल थापा कुशल नेतासँगै खेलाडी पनि हो। म पहिलेदेखि नै चिन्थें। उहाँको फूटबल हेर्थें। कहिलेकाँही भेट्दा खेरी उहाँले प्रशंसा गर्नुहुन्थ्यो। म त्यतिबेला प्रज्ञा प्रतिष्ठानमा कार्यरत रहँदा त्यो गीत गायक प्रकाशमार्फत आइपुग्यो’, शम्भुजितले त्यहि बेला भनेका थिए,‘ ‘तीन पाटे गीत कमलजीले कवितात्मक भावमा लेख्नुभएको थियो। मैले त्यसको अन्तरा, मुखडा हेर्दै गएपछि हल्का एडिट गरेर गीति धारमा ल्याएँ। त्यो गीत केटाले भन्दा पनि केटीले गाउनुपर्ने जस्तो लाग्यो। म गीतमा नेपाली शब्द, मिठास, नेपाली समाजको भोगाई हेर्नेगर्छु। यो गीतमा ‘कहाँ जान लाग्यौं सारंगी दाई’ भन्ने वाक्यले मलाई तान्यो। म आफैं हेटौंडा गएर गीतारको धुनमा संगीत कम्पोज गर्ने गरेकाले त्यताको फ्लेभर थाहा थियो।’

शम्भुजितले ‘तीन पाटे’को सुर बनाइरहँदा त्यही समय उनले फिल्म ‘युगदेखि युगसम्म’को संगीत गर्ने कुराकानी चलिरहेको थियो।

फिल्मका लागि निर्देशक दीपक रायमाझी पनि बाहिरबाट नेपाल आइसकेका थिए। दीपकले गीत कम्पोज गरिदिन आग्रह गरेपछि शम्भुजीतले नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेर हार्मोनियममा गीत कम्पोज गरे। त्यो हार्मोनी अहिले पनि बासकोटासँग सुरक्षित छ।

उनले कम्पोज गरेको गीत निर्देशक रायमाझीसहित निर्माता छविराज ओझा र कुवेर शर्मालाई सुनाए। उनीहरूलाई पनि गीतको ट्युनिङ मनपर्यो।

रोचक के छ भने यो गीत बलिउड गायीका आशा भोषलेले गुमाएकी थिइन्। यसको पनि कथा रहेछ।

नेपालमा गीतको कम्पोजिसन सकिएपछि गीतलाई मुम्बईमा गएर रेकर्ड गर्ने निर्माताहरूले अडान लिए। उनीहरूको चाहना गायिका आशा भोषलेको स्वरमा रेकर्ड गराउने थियो।

‘हामी गीत लिएर मुम्बई पुग्दा आशा भोषले लण्डनमा हुनुहुन्थ्यो। उहाँले एक हप्ता समय माग्नुभएको थियो। हामी नेपाली धैर्य नगर्ने भएर पनि उहाँलाई रेकर्ड गराउन सकेनौं’, शम्भुजितले ५ बर्षअघि कुराकानीका क्रममा सम्झिएका थिए,‘त्यो समयमा मुम्बईमा रेकर्ड गरिएका गीतमा गुणस्तर थियो। यहाँ राम्रा गायकगायिका हुँदा हुँदै पनि निर्माताहरूले आशा भोषलेलाई नै गाउन दिने निर्णय लिएपछि हामी मुम्बई गएका थियौं। आशाजीसँग मैले विजय पराजयलगायतका फिल्ममा काम गरिसकेको थिएँ।’

गायिका आशा भोषलेबाट गाउन सम्भव नभएपछि निर्माताको नजरमा अनुराधा पौडेल परिन्। गुलसन कुमारको स्टुडियोमा गायिका अनुराधाले भोकल डब गरेर मुम्बईकै सबैभन्दा ठूलो स्टुडियोमध्ये एक मेहबुब स्टुडियोमा गीत रेकर्ड गरिन्। गीतमा बब्लु चक्रवर्तीको एरेन्ज र टेगोर दाको रेकर्डिङ थियो। शम्भुजितका अनुसार यो स्टुडियोमा लक्ष्मीकान्त प्यारेलाललगायतका संगीतकर्मीहरू काम गर्दथे।

फिल्मको छायांकनको शुरुवात नै गीत ‘तीन पाटे डाँडा’बाट गरिएको थियो। गीतमा कृष्टि र राजेशलाई कोरियोग्राफर बसन्तजंग रायमाझीले नचाएका थिए। दक्षिणकाली माथिको सल्लाघारीको जंगलमा छायांकन गरिएको थियो।

‘गीतको वर्डिङ नै राम्रो थियो। नेपाली संस्कृति, नेपाली लय, नेपालीलाई नै सुहाउने र नेपाली बोलीचोली भएर राम्रो थियो’, छविराजले सम्झिएका थिए,‘त्यही भएर गीतले नेपालको हरियाली डाँडाकाडालई समेटेको छ।’

निर्देशक दीपक रायमाझी र छाँयाकार जावेद शाह रसियामा पढेर आएकाले फिल्मको काममा उनीहरू कडा थिए। उनीहरू घाम लाग्दा सुटिङ गर्ने र बादल लाग्दा सुटिङ रोक्ने गर्दथे।

‘अहिलेजस्तो डिजिटल समय थिएन। जे गर्दा पनि भोलि सम्पादनको टेबलमा मिलाइन्छ भन्न थिएन। हामी कति दिन त चोभारकै डाँडामा गयौं। फिल्मको क्लाइमेक्स पनि त्यही खिच्यौं। आउटडोरको सुटिङ गन्तव्य नै चोभार हुन्थ्यो’, छविराजले सम्झिएका थिए।

यो फिल्मको काम शुरु हुँदा भुवन केसी, शिव श्रेष्ठ त्यसबेलाका चल्तीका अभिनेता थिए। तर छविराज र उनको निर्माण टिमले यी दुई अभिनेतालाई नलिई राजेश हमाललाई लिए। जुन आफैंमा जोखिमपूर्ण थियो।

‘मेरो, राजेशजी र दीपकजीले पहिलोपटक हात हालेकाले हरेक कोणबाट हेर्दा पूर्ण प्रेमकथाको फिल्म बनाउन रिस्क लिएका थियौं। किनभने त्यो बेला भुवन केसी, शिव श्रेष्ठजस्ता चलिरहेको कलाकार भन्दा पनि नयाँ कलाकार लिएर एउटा परिवर्तन गरौं न भन्ने हिसाबले आयौं र वास्तवमा परिवर्तन पनि भयो’, छविराजले अनुभव साटेका थिए,‘त्यो बेला कृष्टिजीले चिनो र तिलहरिमा अभिनय गरिसक्नुभएको थियो। तिलहरि रिलिज भएको थियो भने चिनोको सुटिङ सकिएपछि हामीसँग काम गर्न आउनुभयो।’

फिल्म निर्माण गर्दा निर्माता छविराज २४ वर्षको थिए। त्यसबेला फिल्मको सबै काम सकिँदा २० लाख रुपैयाँ खर्च भएको थियो। फिल्म निर्माणमा छविराजका काठमाडौंका केही साथीहरूले पनि सहयोग गरेका थिए।

फिल्म बनेपछि उनले साथीहरूबाट लिइएको पैसा फिर्ता गरिदिए र फिल्मको व्यापारको जोखिमलाई ध्यान दिँदै केही निश्चित मार्जिन राखेर नेपाल वितरकलाई फिल्म बेचिदिए।

फिल्म बेच्दा उनीहरूलाई १० लाख नाफा भयो। जसै फिल्म प्रदर्शनमा आयो, फिल्म सुपरडुपर हिट भयो। फिल्म पहिलोपटक बनेपाको मयुर हलमा रिलिज भयो। त्यहाँ ५१ दिन मनाएको दुई वर्षपछि काठमाडौंमा रिलिज भयो। काठमाडौंमा पनि फिल्म भयंकर नै चल्यो।

गीतकार थापाका अनुसार यो गीत त्रिकोणात्मक प्रेमभावमा लेखिएको थियो।

‘मैले युगदेखि युगसम्म भन्दा पनि धेरै अगाडि गीत लेखेको थिएँ। उहाँलाई यो गीतको शब्द मनपरेपछि ‘तीन पाटे डाँडा काटेर’लाई युगदेखि युगसम्म प्रयोग गर्न मिल्छ भनेर सोध्नुभयो। मैले प्रसंग मिल्छ भने त्यसलाई प्रयोग गर्दा हुन्छ भनें’, थापाले पनि सुनाएका थिए, ‘फिल्ममा आइसकेपछि यो गीत लोकप्रिय हुन्छ भन्ने लागेको थियो । गीतमा प्रयोग भएका शब्दले पनि दर्शकलाई तान्यो।’

संगीतकार बासकोटाले गीतमा प्रयोग भएको शब्दले गीतको पपुलारिटीमा सघाएको दाबी गरेका थिए।

‘म प्रायः नेपाली मौलिक शब्दको प्रयोग गर्दछु। मैले अहिलेसम्म जति कलरफूल गीतहरूको कम्पोज गरें, त्यसमा मौलिक शब्दको प्रयोग बढी छन्’, शम्भुजितले भनेका थिए,‘तीन पाटे डाँडाको कुरा गर्दा यसमा प्रयोग भएका शब्द नौलो र मौलिक छ। सँगै गायिकाको गायकी, गीतको दृश्यांकन, कलाकारको अभिनयले पनि गीत चल्नमा सहयोग पुर्याएको छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

टिकटकर आयुश चलचित्र खेल्दै