नेभिगेशन
खेलकुद

आईसीसी क्रिकेट विश्वकप लिग २ : करणको शानदार ब्याटिङमा नेपालको कीर्तिमानी जित

काठमाडौं - स्कटल्याण्डमा सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखलाको पहिलो खेलमा नेपालले जित निकालेको छ । नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको हो ।

स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बल बाँकी छँदा ९ विकेटको क्षतिमा भेट्टायो । करण केसीले ४१ बलमा अविजित ६५ रन बनाए ।

नेपाललाई अन्तिम ६ ओभरमा ६८ रन आवश्यक थियो र ३ विकेट मात्र बाँकी थियो । गुल्शन झाले ४५औं ओभरमा २ छक्का प्रहार गरे भने ४६औं ओभरमा उनी आउट भएपछि नेपाललाई ४ ओभरमा ४३ रन चाहिने अवस्था थियो ।

त्यसपछिको ओभरमा सफिया सरिफले जम्मा ५ रन मात्र दिएपछि अन्तिम ३ ओभरमा ३८ रन आवश्यक रहँदा नेपाल १५९-८ को अवस्थामा थियो । करणले ४८औं ओभरमा एक छक्कासहित सन्दीप लामिछानेसँग मिलेर १३ रन जोडेपछि अन्तिम २ ओभरमा २५ रन आवश्यक भयो।

४९औं ओभरमा सफिया सरिफलाई एक छक्का र २ चौका प्रहार गर्दै उक्त ओभरमा कुल १८ रन जोडेपछि नेपाललाई अन्तिम ओभरमा ७ रन मात्र चाहिएको थियोFB_IMG_1748909949420-1748910026.jpg

अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने क्याचआउट भएपछि रिन ढकालले एक बल वाइड र एक बल डट खेलेपछि १ रन लिएर करणलाई स्ट्राइक दिए । करणले त्यसपछिको २ बलमा २-२ रन जोडेपछि अन्तिम बलमा १ रन आवश्यक थियो ।

उक्त बल डाउन द लेग वाइड भएपछि बाइको रन लिन पनि भागेका रिजन रनआउट भए तर अम्पायरले वाइडको इशारा गरेपछि नेपालको १ विकेटको जित ठहर भएको हो ।

त्यसअघि नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ रन बनाए । गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ रन बनाए ।

नेपालले एकदिवसीय क्रिकेटमा सबैभन्दा उच्च रनको लक्ष्य पूरा गर्दै खेल जित्ने कीर्तिमान बनाएको हो । यसअघि नेपालले क्यानडासँग २८७ रनको लक्ष्य पूरा गर्दै खेल जितेको सबैभन्दा सफल रन चेज थियो ।

स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले १० ओभरमा ४७ रन दिएर ३ विकेट लिए । ज्याक जार्भिस र माइकल लिस्कले २-२ तथा जास्पर डेभिडसन र मार्क वाटले १-१ विकेट लिए ।

त्यसअघि डुन्डीमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाउँदै नेपाललाई २९७ रनको लक्ष्य दिएको हो ।

स्कटल्याण्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाए । टियरले ७२ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरे । यस्तै फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाए ।

नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ४३ रन दिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १० ओभरमा ६६ तथा रिजन ढकालले १० ओभरमा ७८ रन खर्चेर २-२ विकेट लिए । सन्दीप लामिछानेको नाममा १ विकेट रह्‍यो ।

यस जितपछि नेपालको लिग २ मा १३ खेलमा ८ अंक भएको छ र अंकतालिकामा आठौंबाट सातौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद