नेभिगेशन
अर्थ विविध

बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष तथा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२-८३ को बजेटले निजी क्षेत्रका धेरैजसो सुझावहरू समेटेको बताएका छन्। 

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’ कार्यक्रममा बोल्दै उनले बजेटले निजी क्षेत्रलाई ‘की ड्राइभर’ को रूपमा उत्साहित बनाएको उल्लेख गरे।

‘हामीले समग्र अर्थतन्त्रको सुधारका लागि सुझावहरू राख्दै आएका छौँ, जसलाई सरकारले यस पटक बजेट र कानुनमार्फत सम्बोधन गरेको छ,’ ढकालले भने। उनले बजेटमा समेटिएका सुझावहरूको प्रभावकारी कार्यान्वयनमा सरकार चुक्न नहुनेमा जोड दिए। विगतमा पनि निजी क्षेत्रका मागहरू बजेटमा समेटिए तापनि कार्यान्वयनको अभावमा निजी क्षेत्र निरुत्साहित भएको उनको भनाइ छ।

बजेटका प्रमुख सम्बोधनहरू
ढकालले बजेटले खनिज पदार्थ निर्यात, विशेष आर्थिक क्षेत्र (सेजं)को भाडामा सहजीकरण, अन्तर्राष्ट्रिय सभा हल निर्माणलगायत निजी क्षेत्रका मागहरू समेटेकोमा उत्साह व्यक्त गरे। ‘खनिजजन्य वस्तुहरू निर्यात गर्न सकिने व्यवस्था बजेटमा समेटिएको छ, यो कार्यान्वयनमा ढिलाइ हुनुहुँदैन,’ उनले भने। मध्यपूर्वका राष्ट्रहरूले खनिज पदार्थको उपयोगबाट आर्थिक उन्नति गरेको उदाहरण दिँदै नेपालले पनि यस्ता सम्भावनाहरूको उपयोग गर्नुपर्ने उनको तर्क छ।

पर्यटन क्षेत्रमा सीमा क्षेत्रका होटेलहरूका लागि विदेशी मुद्राको थ्रेसहोल्ड हटाइएको प्रावधानले सहजीकरण हुने उनले बताए। यस्ता कदमले पर्यटन क्षेत्र उत्साहित भएको उनको भनाइ छ।

सम्बोधन नभएका विषयहरू
बजेटले जलविद्युतको पीपीए, ‘टेक एन्ड पे’ जस्ता विषयहरूलाई सम्बोधन गर्दा निजी क्षेत्रलाई असहज हुने र विदेशी लगानीकर्ता भित्र्याउन तथा बैंकहरूलाई वित्तीय व्यवस्थापनमा समस्या निम्त्याउने ढकालले औँल्याए। ‘टेक एन्ड पे’ नीतिले विद्युत् व्यापारमा निजी क्षेत्रलाई अवरोध गर्ने संकेत गरेको उनको विश्लेषण छ।

कार्यान्वयनको चुनौती
ढकालले धौवादी फलाम खानीको उदाहरण दिँदै बजेटमा हरेक वर्ष समेटिए पनि कार्यान्वयन नहुँदा लगानीकर्ता र नागरिकहरू निराश भएको बताए। बजेटका राम्रा प्रावधानहरू कार्यान्वयनमा चुक्दा समस्या आउने गरेको उनको भनाइ छ।

‘बजेटले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ, यो सुशासन र प्रभावकारी कार्यान्वयनबाट मात्र सम्भव छ,’ उनले भने। बजेटको मार्गनिर्देशनलाई कार्यान्वयनमा लैजान सके निजी क्षेत्रको उत्साह र अर्थतन्त्रको उन्नति सम्भव हुने उनको विश्वास छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध