नेभिगेशन
राजनीति

परराष्ट्र मन्त्री राणा स्वदेश फिर्ता

काठमाडौँ- परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङबाट स्वदेश फर्किएकी छन् ।

चीन सरकारले यही जेठ १६ गते आयोजना गरेको अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर मन्त्री राणा गएराति स्वदेश फर्किएकी हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा समारोहमा सहभागी हुन मन्त्री राणा गत बुधबार हङकङ गएकी थिइन् ।

 


अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने सम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा नेपाल पर्यवेक्षकका रूपमा सहभागी भएको हो ।

उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय संघसंगठन सहभागी भएका थिए । उक्त संगठनले विभिन्न देशबीच, एक देश र अर्को देशको कम्पनी वा नागरिकबीच एवं विभिन्न मुलुकका निजी व्यवसायहरूबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ ।

यसै कार्यक्रमको सिलसिलामा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । उक्त भेटका अवसरमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्दै जाने विषयमा कुराकानी भएको जानकारी मन्त्री डा. राणाले दिइन् ।

भेटघाटमा नेपाल र चीनबीच आर्थिक, प्राविधिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको उनले बताइन् ।

मन्त्री डा. राणाले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एशिया महाशाखाका प्रमुख भृगु ढुंगाना र हङकङस्थित नेपालका महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखक लगायत परराष्ट्र मन्त्रालय र महावाणिज्यदूतावास हङकङका प्रतिनिधिहरू सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति