नेभिगेशन
राजनीति

भारतीय माओवादीका महासचिव बसवराजु मारिए, नेपाली कम्युनिस्टको साइनो कस्तो थियो?

काठमाडौं– भारत सरकारले छत्तिसगढ क्षेत्रमा त्यहाँका नक्सलवादी (माओवादी)का महासचिव बसबराजु मारिएको पुष्टि गर्दै अतिवादी कम्युनिस्टको सफाया भएको दाबी गरेको छ।

नेपालमा माओवादी आन्दोलनको बिउ रोपेको दाबी गर्ने भारतले भने भारतीय कम्युनिस्ट पार्टीको प्रभावशाली नक्सलवादी माओवादीकै सफायालाई सफलता मानेको छ।

नेपालमा केही पक्षले यसको बिरोध जनाए। तर, यो शून्यप्रायः मात्र चर्चा भयो। 

बसबराजु मारिएको विरुद्धमा काठमाडौंमा प्रभाव नरहेको तर सैद्धान्तिक मानक राखेको राष्ट्रिय क्रान्तिकारी मोर्चाले मात्र बिरोध गरेको थियो। सत्तासिन नेकपा एमाले र प्रतिपक्षी नेकपा माओवादीले भने एउटा विज्ञप्तिसम्म पनि जारी गरेनन्।

मोर्चाले ‘फास्टिस्ट मोदी सरकारको भण्डाफोर गरौं’ भन्ने तुलसहित एक दिन प्रदर्शन गरेको थियो।

छरिएर र विविध टुक्रामा रहेको कम्युनिस्ट दाबी गर्ने बहुसंख्यक पार्टीका संयुक्त धारणा नआए पनि भाकपा माओवादीको अभियानसँग नेपालका कम्युनिस्टको साइनो ‘सिकाई’मा आधारित रहेको केही दृष्टान्तले पुष्टि गर्छ।

मनमोहन अधिकारी नेतृत्वको पूर्वकोशी प्रान्तीय कमिटीबाट अलग्गिएर झापा जिल्ला कमिटीले कोअर्डिनेसन केन्द्र झापा गठन गरेका थिए। यसको संयोजक राधाकृष्ण मैनाली थिए। 

यो समूहमा मोहनचन्द्र अधिकारी, रामनाथ दाहाल, नेत्र घिमिरे, सीपी मैनाली, वीरेन राजवंशीलगायत थिए।

चारु मजुमदारको नेतृत्वमा नक्सलवादीहरूले गरेको आन्दोलनको सिको गर्दै कोअर्डिनेसन केन्द्र झापाले ‘वर्ग–शत्रु सफाया’ अभियान चलायो। 

राधाकृष्ण मैनालीले आफ्नो पुस्तक ‘नलेखिएको इतिहास’मा उल्लेख गरेअनुसार, त्यति बेला नक्सलवादी नेता मुनिलाल सिंहको सल्लाहबमोजिम नै झापाका कम्युनिस्ट नेताहरूले ‘जमिनदार र सामन्त’विरुद्ध अभियान चलाउने निष्कर्षमा पुगेका थिए।

उनीहरूले नक्सल आन्दोलनकै शैलीमा ‘झापा विद्रोह’को नाममा जमिन्दारविरुद्ध धावा बोल्न थाले। 

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘झापा विद्रोह’मा लागेका थिए। ती युवाले सामन्त भएको आरोप लगाएर केही सर्वसाधारणको ‘टाउको कटुवा’ अभियान नै चलाए। 

२०२८ देखि २०३० सालसम्म चलेको सो अभियान नै ‘झापा– विद्रोह’ नामले अहिलेसम्म चर्चित छ।

झापा विद्रोहका नेता रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठ प्रहरी कारबाहीमा मारिएका थिए।

केपी शर्मा ओली भने धर्मप्रसाद ढकालको हत्या आरोपमा २०३० सालमा पक्राउ परेर १४ वर्ष जेल बसेका थिए। ओलीसँगै पक्राउ परेका मोहनचन्द्र अधिकारी पनि लामो समय जेल बसे।

त्यति बेला नक्सलवादीसँग जोडिएका नेपाली वामपन्थी दल तथा नेता अझै पनि नक्सलवादीको पक्षमा उभिन्छन्। 

मोर्चाले बिरोध गरेको तुलमा लेखिएको थियो, ‘भारतीय कम्युनिस्ट पार्टी माओवादीका महासचिव क. नम्बाला केशव राव बसवराजु लगायतका नेताहरूको सामूहिक हत्याको विरोध गरौँ– फासिष्ट मोदी सरकारको भण्डाफोर।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति