नेभिगेशन
विश्व

लिभरपुलको विजय परेडमा फ्यानमाथि कारले कुल्चिदा ४७ जना घाइते

काठमाडौँ - बेलायतको लिभरपुलमा एक व्यक्तिले कारले लिभरपुलका फुटबल प्रशंसकहरूलाई कुल्चेको घटनाले फुटबल जगतलाई स्तब्ध बनाएको छ ।

दुर्घटनामा ४७ जना घाइते भएका छन् । यी मध्ये २७ जनालाई अस्पताल भर्ना गरिएको छ भने २० जनाको घटनास्थलमै उपचार गरिएको छ ।

प्रिमियर लिगमा लिभरपुल फुटबल क्लबको जित मनाउन विजय परेडमा सहभागी फ्यानहरुमाथि कार चढेको थियो । स्थानीय प्रहरीका अनुसार सोमबार साँझ स्थानीय समय अनुसार करिब ६ बजे वाटर स्ट्रिटमा एउटा कारले धेरै पैदल यात्रीहरूलाई ठक्कर दिएको थियो । ५३ वर्षीय अभियुक्तलाई पक्राउ गरिएको छ ।


मिडिया रिपोर्टका अनुसार यस परेडमा लाखौ मानिसहरूले भाग लिएका थिए ।स्थानीय प्रहरीले एक विज्ञप्ति जारी गर्दै अभियुक्त लिभरपुल क्षेत्रमा बस्ने एक गोरा व्यक्ति भएको बताएको छ ।


बेलायती प्रधानमन्त्री केयर स्टारमरले यो घटनालाई स्तब्ध पार्ने बताएका छन् । उनले लिभरपुलका तस्बिरहरू भयानक भएको र घाइतेहरूप्रति समवेदना व्यक्त गरेका छन् ।


इङ्गल्याण्डको शीर्ष फुटबल लिग (प्रिमियर लिग) को २०२४-२५ सिजनमा, लिभरपुल ८४ अंकका साथ च्याम्पियन बन्यो । यो प्रिमियर लिगको हालको ढाँचामा लिभरपुलको दोस्रो ट्रफी हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व