नेभिगेशन
समाज विविध

चार बर्षअघि जब नारायणहिटीबाट श्रीपेच चोर्न खोजियो, को थिए उनी?

काठमाडौं– दरबार संग्राहलयमा राखिएको राजाको श्रीपेच चोर्ने एउटा असफल प्रयास चार बर्षअघि गरिएको थियो। गणतन्त्र घोषणापछि संग्राहलय बनाएर अवलोकनका लागि राखिएको श्रीपेच कसरी चोर्न खोजिएको थियो?

२०७८ सालमा दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई काठमाडौंको म्हेपी बस्दै आएका २५ वर्षीय खिमबहादुर घर्तीले सिसाको सोकेस मुड्की र खुकुरीले हानेर फुटाउन खोजेका थिए।  

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका तत्कालिन कार्यकारी निर्देशक भेषनारायण दाहालले घर्तीले रूपन्देही कक्षमा रहेको तीन फिट लम्बाइ र दुई फिट चौडाइको सिसाबाट निर्मित सोकेस मुड्की र खुकुरीले हानेर श्रीपेच चोर्ने असफल प्रयास गरेको जानकारी दिएका थिए।

घर्तीले श्रीपेच राखिएको सोकेसको सिसा फुटाउन सोही कक्षमा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास पनि गरेका थिए। 

टिकट काटेर दरबार संग्रहालय अवलोकन गर्दै रूपन्देही कक्ष पुगेका उनले सर्वप्रथम खुकुरी निकाल्न सिसाको ठूलो सोकेस फुटाउने प्रयास गरेका थिए।

सोही कक्षमा सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो। खुकुरी र मुड्कीको सहायताले बुलेट प्रुफ

सिसा फुटाएर श्रीपेच झिक्ने प्रयास भएको थियो। घर्तीले त्यो श्रीपेच लगाएर राजा बन्न खोजेको बयान दिएका थिए। 

राजा बन्छु भन्दै उनले श्रीपेच राखिएको बुलेट प्रुफ सिसाको सोकेस फुटाउन खोजेपछि नियन्त्रणमा परेका थिए। 

पक्राउपछि सोधपुछका क्रममा उनको मानसिक सन्तुलन ठीक नभएजस्तो देखिएको प्रहरीले बताएको थियो। 

२०७५ असोज ३० गते नेपालका राजाहरूले लगाएको श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी दरबार छाडेपछि कडा सुरक्षा घेराभित्र श्रीपेच राखिएको थियो। 

२०६५ फागुन १५ गते दरबारलाई संग्रहालय बनाएर ५२ मध्ये १९ कक्षलाई सर्वसाधारणका लागि खुला गरिएको थियो। श्रीपेच र राजदण्डलगायत सामग्रीलाई सुरक्षाको कारण देखाएर प्रदर्शनीमा राखिएको थिएन। 

तत्कालीन पुरातत्व विभागका महानिर्देशकसमेत रहेका दरबार संग्रहालयका कार्यकारी निर्देशक दाहालले श्रीपेच र राजदण्डलगायत ऐतिहासिक सामग्री राखिने जानकारी गराएका थिए।

अस्ट्रेलियामा पाइने बर्ड अफ प्याराडाइज (हँमायु) को बहुमूल्य प्वाँखजडित श्रीपेचमा ७ सय ३० हीरा, २ हजार ३ सय ७२ मोती, सुन, चाँदी, माणिक र पन्ना राखेर तयार पारिएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध