नेभिगेशन
समाज विविध

मंगलबारदेखि गोसाइँकुण्ड मेला, भक्तजनको आगमन सुरु

रसुवा– पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरु भएको छ । यही जेठ १३ गते मंगलबारदेखि सुरु हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् ।

मेला यही जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा समितिले राखेको छ ।

जिल्लाको उच्च भागमा अवस्थित समुन्द्र सतहबाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका लागि काठमाडौँदेखि धुञ्चेसम्मको मोटर यात्रा गरेपछि पैदल यात्रा सुरू हुने र तिवारी बगर, खन्ति, देउराली, डिम्सा, चोलाङपाटी हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ ।

गङ्गा दशहरा पर्वका लागि पतञ्जली योग समितिमार्फत आएका २५० भन्दा बढी भक्तजन आज (आइतबार) बिहानै गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरीले जनाएको छ ।

धार्मिक मान्यताअनुरूप जीवनमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थस्थल भएका कारण भक्तजन गोसाइँकुण्ड पुग्ने गरेका छन् ।

विशेष पर्व गङ्गादशहरामा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिनगरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ ।

बाह्रै महिना भक्तजन आवतजावत भने निरन्तरता दिँदै आएको छ । यात्रुहरूको बासस्थानका लागि ठाउँठाउँमा होटल सञ्चालनमा छन् ।

अनुपम प्राकृतिक छठाले गर्दा कुण्डमा जान सहज भएको कृषि वैज्ञानिक डा. ताराबहादुर घिमिरेले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध