नेभिगेशन
विश्व

अमेरिकाको सान डिएगोमा विमान दुर्घटना, पाइलटसहित ६ जनाको मृत्यु

काठमाडाैं  - अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित विमानमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार ‘सेसना ५५० सिटेसन’ नामक सो विमान बिहीबार बिहान ३ः४७ बजे विद्युत्‌को तारमा ठोक्किएर सिधै आवासीय क्षेत्रमा खसेको थियो । विमानमा आगो लागेपछि आसपासका थुप्रै घरहरूमा क्षति पुगेको बताइएको छ ।

उक्त विमान चर्चित सङ्गीत व्यवसायी डेभ शापिरोको स्वामित्वमा रहेको थियो । दुर्घटनामा उनका साथै अन्य पाँच जनाको ज्यान गएको छ ।

सान डिएगोको मर्फी क्यान्यन क्षेत्रका कम्तीमा १० घरमा विमानका भागहरू खस्दा सामान्य क्षति पुगेको जनाइएको छ । तर, जमिनमा रहेका मानिसहरूमा गम्भीर चोटपटक नपरेको जानकारी प्राप्त भएको छ ।

सङ्गीत संस्था साउन्ड ट्यालेन्ट समूहले एक वक्तव्य जारी गर्दै भन्यो, 'हामी हाम्रो सहसंस्थापक, प्रिय सहकर्मी र साथीहरूको असामयिक निधनबाट अत्यन्त मर्माहत भएका छौं । यो कठिन घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।'

दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको एनटीएसबीले जनाएको छ । सो समयमा विमानस्थलमा अवतरण मार्गका बत्ती र मौसम मापन यन्त्रहरू काम नगरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

विमानका चालकले आपतकालीन सन्देश पनि नपठाएको जनाइएको छ ।

सुरक्षा निकायले प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आउन केही सातासम्म लाग्ने जानकारी गराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व