नेभिगेशन
राजनीति

राजावादी आन्दोलनलाई अन्तर्राष्ट्रिय संस्था आईडीयूको समर्थन, के हो आईडीयू? (समर्थन विज्ञप्तिसहित)

काठमाडौं– जेठ १५ गतेदेखि पूर्वघोषित राजावादी शक्तिको प्रदर्शन र आन्दोलनलाई नदबाउन सरकारलाई अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल डेमोक्रेटीक युनियन (आईडीयू)ले सन्देश दिएको छ।

सरकारले गणतन्त्रको बिरोधमा आन्दोलन भए प्रतिबन्ध समेत लगाउन सक्नेसम्मको सरकारका प्रवक्ता सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका थिए। 

तर आईडीयूले नागरिक अभिमत दबाउन नहुने जनाएको छ।

उक्त संस्थाले एक विज्ञप्ति जारी गरेर नै राजावादी संस्थाको आन्दोलनको विषयमा धारणा सार्वजनिक गरेको हो। 

उसले भनेको छ,‘आईडीयूले नेपालमा हाल भइरहेका राजतन्त्रवादी सार्वजनिक प्रदर्शनहरूलाई नजिकबाट निगरानी गरिरहेको छ र देशको सरकारलाई आफ्ना नागरिकहरूलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने लोकतान्त्रिक अधिकारको पूर्ण प्रयोग गर्न अनुमति दिन आह्वान गर्दछ।’

संस्थाले अगाडि थपेको छ,‘हामी स्वीकार गर्छौं कि शान्तिपूर्ण विरोध प्रत्येक लोकतान्त्रिक समाजको आधारशिला हो, र हामी नेपाल सरकारले धेरै राजतन्त्रवादी नेताहरूलाई पक्राउ गरेकोमा निन्दा गर्छौं, जसमध्ये धेरै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सदस्य छन्।’ 

शान्तिपूर्ण रूपमा आफ्नो राजनीतिक विचार व्यक्त गरेकोमा गैरकानूनी रूपमा पक्राउ गरिएका सबै नागरिकहरूको तत्काल, बिना शर्त रिहाइको लागि आईडीयूले आह्वान गरेको छ। 

विज्ञप्ति हेर्न आईडीयूमा क्लिक गर्नुहोस्।
 

के हो आईडीयू?
आईडीयू केन्द्र–दक्षिणपन्थीदेखि दक्षिणपन्थी राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय गठबन्धन हो।

जर्मनीको म्युनिखमा मुख्यालय रहेको संस्थामा ६५ देशका ८४ पूर्ण र सहयोगी सदस्यहरू छन्।

यसको अध्यक्षता क्यानडाका पूर्वप्रधानमन्त्री स्टीफन हार्परले गरेका छन्। यसमा तीन सम्बद्ध अन्तर्राष्ट्रिय संस्थाहरू, ल्याटिन अमेरिकी पार्टीहरूको संघ, एशिया प्रशान्त डेमोक्रेट संघ, क्यारिबियन डेमोक्रेट संघ, अफ्रिकाको डेमोक्रेट संघ, युरोपेली जनता पार्टी र युरोपेली कन्जरभेटिभ र सुधारवादी पार्टी यस संस्थामा आवद्ध छन्।

‘केन्द्र–दक्षिणपन्थी’ रूढिवादी राजनीतिक दलहरूलाई सम्पर्क स्थापित गर्न र सार्वजनिक नीति र सम्बन्धित मामिलाहरूमा फरक विचारहरू छलफल गर्न आईडीयूले अनुमति दिन्छ। तिनीहरूको घोषित लक्ष्य ‘विश्वभर लोकतन्त्र र केन्द्र–दक्षिणपन्थी नीतिहरूको’ प्रवद्र्धन गर्नु हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति