नेभिगेशन
राजनीति

रवि लामिछानेको आदेश आउन किन भइरहेको छ ढिलाइ ?

काठमाडौं - पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने वा उनलाई छाड्ने भन्नेबारेमा तीन दिनदेखिको बहस शुक्रबार दिउसो २ बजे सकियो । त्यसपछिका ६ घण्टा बित्दा समेत न्यायाधीशहरूले आदेश तयार पारेका छैनन् ।

यस्ता विवाद सुनुवाइपछि न्यायाधीशहरूले आन्तरिक रुपमा आपसी सल्लाह गर्छन् अनि त्यसलाई मस्यौदा तयार गर्छन् । त्यसपछि मात्रै आदेशको रुपमा तयार गर्छन् । तर शुक्रबार भने आदेश लेखनमा लामो समय लागेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेल अहिले न्यायाधीशहरू आदेश लेखनको क्रममा रहेको र केहीबेरमा आदेश सार्वजनिक हुने बताउँछन् । उनले भने, ‘उहाँहरू छलफलपछि आदेश लेखनको समयमा हुनुहुन्छ, अब केहीबेरमा आदेश तयार होला ।’

कतिपय मुद्दामा न्यायाधीशहरूले एकै पेजमा आदेश तयार गर्छन् भने कतिपय मुद्दाको विषयवस्तु, गम्भिरता र अरु विवरणहरू समावेश गरेर लामो आदेश तयार गर्छन् । कैयौं यस्ता विषयहरूमा न्यायाधीशहरूले ५० औं पेज लामो आदेश तयार पारेका उदाहरण समेत छन् । सामान्यतयाः विभिन्न आधार, तर्क र दृष्टिकोण समावेश भएको लामो आदेश तयार गर्न समय लाग्छ ।

शुक्रबार सुनुवाइ भएको विषयमा तीनवटा निवेदनहरू छन् ।

पहिलो, आफ्नो पतिलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रवि लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन हालेकी छन् । दोस्रो, आफूलाई गलत ढंगले थुनामा पठाइएको भन्दै रवि लामिछानेले उच्च अदालतको बुटवल इजलासको आदेश बदर हुनुपर्ने माग राखेका छन् ।

तेस्रो, छविलाल जोशीले पनि आफू थुनामुक्त हुनुपर्ने माग राखेर दिएको निवेदन एकसाथ सुनुवाइ भइरहेको छ ।

‘यी तीनवटा विषयमा एकमुष्ट सम्बोधन हुनेगरी आदेश तयार हुँदैछ,’ सर्वोच्च अदालतका एक कर्मचारीले भने, ‘त्यो लगायत विविध कारणले आदेश लामो हुने भयो, अनि समय लागेको हो ।’

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति