नेभिगेशन
सुरक्षा–अपराध

सेनाका उपरथी बानियाँलाई बिदा बस्ने पत्र, कार्यरथी विभागमा खटाइयो कनिष्ठ जर्नेल (पत्रसहित)

काठमाडौं– कनिष्ठ जर्नेल (सहायक रथी)लाई कार्यरथी विभागको जिम्मेवारी दिँदै उपरथी दीपककुमार बानियाँलाई नेपाली सेनाले बिदा बस्ने पत्र थमाएको छ।

पहिलो पदावधि सकिनु १५ दिनअघि नै अवकासपत्र थमाइएको छ।

बानियाविरुद्ध सेवाकालमा अनियमित कार्य गरेको गम्भीर उजुरी परेपछि प्रधानसेनापति अशोकराज सिग्देलको निर्देशनमा उनलाई तत्काल अवकास दिइएको हो।

बानिया हाल तीन तारे जर्नेलको लाइनमा रहेका कार्यरथी विभागका प्रमुख थिए। उनले यसअघि गणपति, नगरकोट वार कलेज प्रमुख तथा पश्चिम पृतनापतिको जिम्मेवारी सम्हाल्दा विभिन्न अनियमितता गरेको उजुरीहरू सेनाको उच्च नेतृत्वसम्म पुगेका थिए।

नेपाल सेनामा उपरथीको पहिलो पदावधि ३ वर्षको हुन्छ भने दोस्रो पदावधि २ वर्ष थपिने व्यवस्था छ। 

बानियाँको पहिलो पदावधि २०८२ साल जेठ २३ गते सकिँदै थियो। तर, दोस्रो पदावधिको लागि सिफारिस नभएपछि उनलाई जेठ ८ गतेबाट विदामा बस्ने गरी अवकास पत्र दिइएको हो।

बानियाँले सम्हाल्दै आएको कार्यरथी विभागको जिम्मेवारी अहिले सैनिक संगठन निर्देशनालयका निर्देशक सहायक रथी दिवसराज रेग्मीलाई अतिरिक्त रूपमा बुझबुझारथ गर्न सैनिक सचिव सहायक रथी ध्रुवकुमार कार्कीले अनुरोध गरेका छन्।
Deepak-Kumar-Baniya--E-1747901844.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध