नेभिगेशन
सुरक्षा–अपराध

पूर्वदेखि पश्चिमसम्म यसरी निर्ममताका साथ मारिएका थिए शिक्षकहरू

काठमाडौं– गुरू पूर्णिमामा आफ्ना शिक्षकलाई श्रद्धाका साथ सम्मान  गर्न सिकाइन्छ। तर, कतिपय शिक्षकका परिवारजन भने श्राद्ध गरिरहेका होलान्।

नेपालमा शिक्षक अधिकारका लागि सडकसम्म आउनुपरेको अवस्था छ भने राजनीतिमा लाग्यो भनेर राज्यको हेपाई एकातिर छ भने सामाजिक अपराधको शिकार पनि बन्नु परेका उदाहरण छन्। 

नेपालको राजनीतिक क्रान्तिको नामको सुरुआत नै मुक्तिनाथ अधिकारी भन्ने शिक्षकलाई रुखमा बाँधेर चरम आततायी हिसाबले गरिएको थियो। 

अझै पनि समाजमा विभिन्न कारणले शिक्षकहरु मारिने घटना कम छैनन्। त्यसका केही उदाहरण र प्रतिनिधि घटनाहरू पनि छन्।

रौतहटको साबिकका भसेडवा गाविसमा वडा नम्बर ३ घर भई कनकपुर गाविसको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय सिम्रीमा कार्यरत २५ वर्षीय शिक्षक तपसी राय यादवको हत्या भएको थियो।

आफ्नै घरमा सुतिरहेको अवस्थामा राति ९ बजे सोही विद्यालयमा कार्यरत तपसीका सहकर्मी शिक्षक रामाधार यादवले आफ्नो मोबाइलबाट फोन गरेर एउटा काम छ भन्दै उनलाई घरबाहिर बोलाएका थिए। 

त्यसपछि, घरबाहिर निस्किएका उनलाई मुख बाँधेर आएका तीन–चार जनाको समुहले घर नजिकैको उखुबारीमा लगेर खुकुरी प्रहार गरी हत्या गरिएको थियो। 

उखुवारीमा खुकुरीले प्रहार गरेपछि तपसीले गुहार माग्दा घटनास्थलमा पुगेका उनका आफन्त र गाँउलेले उनलाई अचेत अवस्थामा फेला पारेका थिए। 

खुकुरी प्रहारबाट गम्भिर घाइते भएका तपसीको थप उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। आफ्नै सहकर्मीको जालमा उनको हत्या भयो।

यस्तै, अर्को घटना सप्तरीको थियो।

राजविराज नगरपालिका वडा नम्बर ७ स्थित खर्साल टोलमा एक नीजि विद्यालयमा अध्यापन गराउँदै आएका जयकृष्ण बिराजीको एक समूहले हत्या भएको थियो।

शिक्षक जयकृष्ण बिराजी भनिने भट्टराईको हत्या गरेको आरोपमा पक्राउ गर्न सप्तरी जिल्ला अदालतले आदेश गरे पनि आरोपित सुभाषचन्द्र यादवलाई पक्राउ परेको करिब २ वर्षपछि धरौटीमा रिहा भएपछि पीडित परिवारजन दुखी भए।

जिल्ला अदालतमा भएको थुनछेक आदेशबाट ३ लाख रुपैयाँ धरौटी भुक्तानी गरि वडा नम्वर ७ कै ४० वर्षीय आरोपित टुनटुन भनिने सुभाष चन्द्र यादव छुटेका थिए। 

वि.सं. २०७६ असार १० गते विहान २ बजे तिरहुत गाउँपालिका वडा नम्बर २ स्थित गोइठी घर भई राजविराज नगरपालिका वडा नम्बर २ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गरिरहेका २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको हत्या भएको थियो।

अर्कोचाहिँ बैतडीमा मृत फेला परेका शिक्षकको हत्या गरिएको भन्दै विद्यार्थी तथा आफन्तहरू आन्दोलनमा उत्रिएका थिए। अन्दाजी ५० वर्षीय शिक्षक धनबहादुर विष्ट आफ्नै निवास बाहिरको पछाडि पट्टिको भिरालो भागमा मृत फेला परेका थिए। उनी पाटनको कृष्ण माध्यमिक विद्यालयमा कार्यरत थिए। 

विष्ट कार्यरत रहेको विद्यालय र पाटन बहुमुखी क्याम्पसका विद्यार्थीहरूले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै आन्दोलन गरेका थिए। उनको हत्या भएको दाबी गरिएको थियो। 

एउटा त्रसित र डरलाग्दो हत्याचाहिँ मोरङको मिक्लाजुङमा भएको थियो।

मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको थियो। श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा डिवि सिलवाल भनिने धनबहादुर विक पक्राउ गरिए। तस्बिरमा रहेका उनै बिक पनि हुन्। 

बुढीगंगा गाउँपालिका– ४ बाट ३२ वर्षीय विकलाई पक्राउ गरिएको थियो। उनी विप्लव समूहको मोरङ जिल्ला इञ्चार्ज पनि थिए। 

शिक्षक श्रेष्ठको हत्या हुँदा उनी मेची–कोसी ब्यूरो सदस्य थिए। हत्यामा ६ जना संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 

उता, मेरिङदेन गाउँपालिका–२ सान्थाक्राको जिदिमा निवासी जालपा देवी आधारभूत विद्यालयका शिक्षक खड्कबहादुर आवाजुङ लिम्बुको गोली प्रहार गरी हत्या भएको अलग घटना पनि छ। 

प्रताप भनेर चिनिने ३० वर्षीया आकाश लिम्बूले भरुवा बन्दुक हानेर ५० वर्षीय खड्कबहादुरको हत्या गरेका थिए।

यति मात्र होइन यस्तो हत्या गर्ने क्रममा युवती समेत सामेल भएका घटना छन्। शिक्षकको हत्या गरेर फरार रहेकी ओखलढुङ्गा सिद्धिचरण–८ सल्लेरीकी छलमाया धमलालाई पक्राउ गरिएको थियो। 

छलमायामाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३३ वर्षीय दिपककुमार ठाकुरको हत्या गरेको आरोप लागेको थियो। 

ठाकुर कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए। उनको कोठामा शव भएको स्थानीयले बताएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलको प्रकृतिका आधारमा हत्या भएको अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

घटनाको प्रकृती हेर्दा मृतकको टाउको तथा शरीरको अन्य भागमा समेत कुटपिट गरी घाइते बनाइएको तथा नाक, मुख र घाँटीमा गम्छाले बाँधी मुखमा सिरानीले थिची हत्या गरिएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको थियो।

उता, दैलेखमा गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको थियो। ४२ वर्षका उनको शव विद्यालयको बरन्डामा फेला परेको थियो।

यी केही प्रतिनिधि घटना मात्र हुन्। नेपालमा शिक्षक पेशा गर्नेलाई विभिन्न कारण देखाएर वा उनीहरूको निजी दुश्मनीका हिसाबले पनि हत्या हुने गरेको पाइन्छ। 

हत्या भएका शिक्षक नै कति छन् भन्ने यकिन आधिकारिक तथ्यांक नभेटिए पनि यस्ता ‘घटनाका खबर’ भने कम हुने गरेका छैननन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध