नेभिगेशन
राजनीति

कांग्रेस सभापति देउवा हिन्दू राष्ट्रको पक्षमा उभिएका हुन्, भाजपा नेता जोलीले किन यस्तो बयान दिए?

काठमाडौं– नेपालमा हिन्दू राष्ट्र स्थापनाको बहस र आन्दोलन घोषणाको साता दिनअघि भारतीय जनता पार्टी (भाजपा) नेता बिजय जोलीले काठमाडौंमा पत्रकार सम्मेलन गरे, बुधबार।

पत्रकार सम्मेलनका दौरान उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि हिन्दू राष्ट्रको पक्षमा रहेको बयान मात्र दिएनन् हालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको अन्तरबिरोधकाबीच चितवनको ठोरीमा राम मन्दीर स्थापना गर्ने भनेको पनि स्मरण गरे। 

जोलीले ८१ प्रतिशतभन्दा बढी हिन्दू रहेको नेपालका जनताबीच हिन्दू राष्ट्र घोषणा भए आफू त्यसमा सहमत र समर्थनमा रहने बताएका थिए। जोलीले भाजपाका विभिन्न तहका नेताको काठमाडौं दौडपछि अन्तिममा दिएको सन्देश थियो, यो। 

त्यसअघि भाजपा विदेश विभाग प्रमुख बिजय चौथाइबाले, भाजपा बरिष्ठ नेता भगतसिंह कोश्यारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार समितिका सदस्यको भ्रमणपछि जोलीको यो समष्टि बयान आएको हो।

यसबीचमा सगरमाथा संवादका लागि भनेर भारतीय बनमन्त्री भूपेन्द्र यादव पनि काठमाडौं आएका थिए। अन्यले झैं उच्चस्तरीय राजनीतिक भेट गरेका जोलीको पत्रकार सम्मेलनले दिएको सन्देश महत्वपूर्ण रहेको मानिन्छ। 

उच्च स्रोतले भन्यो,‘नेपालमा हिन्दूत्वको विषयमा आन्दोलनको घोषणा हुनु र भारतीय संस्थापनका नेताले पत्रकार सम्मेलन गरेर नै त्यसको पक्षमा रहेको बयान दिनु असामान्य होइन।’

त्यहाँमाथि पत्रकार सम्मेलनका क्रममा कांग्रेस सभापति देउवा, प्रधानमन्त्री ओलीसमेत हिन्दू राष्ट्रको पक्षमा रहेको बयान दिँदा त्यसको खण्डन वा जवाफ नआउनुलाई पनि महत्वका साथ हेरिएको उच्च स्रोतको दाबी रहेको छ।

‘नेपालका उच्च राजनीतिक तहमा भएको बहस र वार्ताका कारण नै जोलीले यस्तो भन्ने हिम्मत राखेको हुनुपर्छ’, स्रोतले भन्यो,‘अन्यथा यो विषयको खण्डन आउनुपर्ने हो तर कांग्रेस, एमाले र सरकार आफैं पनि मौन रहनुलाई अर्थपूर्ण रुपमा हेर्न आवश्यक छ।’

नेपालको संविधानको प्रस्तावनामा नै हिन्दूत्व कायम गरिनेगरी विभिन्न चरणमा छलफल भएका विवरण यसअघि आएका थिए। त्यहाँमाथि कांग्रेसमा शंकर भण्डारीको नेतृत्वमा हिन्दूत्वको विषयमा बहस चलिरहेको पनि छ। 

पछिल्ला चरणमा देउवाको मौनता मात्र होइन, हिन्दूत्वका निम्ति नेता शेखर कोइरालाले जनमत संग्रह आवश्यक रहेको बताउनु, महामन्त्री गगनकुमार थापाले राज्यको धर्म हुन्छ भनी बयानबाजी गर्नुलाई पनि जोलीले पत्रकार सम्मेलनमा भनेको विषयसँग जोडेर हेर्न सकिने सुविधा मिलेको छ।

‘मैले त सदनमा नै बोलेको कुरा हो। कुनै विदेशका नेताले भन्दा पनि नेपाली जनताको चाहना के हो? यो विषयमा हामीले पार्टीभन्दा माथि उठ्नुपर्छ भनेको हो’, कांग्रेस नेता भण्डारी भन्छन्,‘नेपाल हिन्दू राष्ट्रको विकल्पमा लामो समय रहन सक्तैन। जनताको भावनाविपरित जान मिल्दैन।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति