नेभिगेशन
राजनीति

सरकारमा पहिलो पटक कांग्रेसले एमालेलाई पेल्यो, ओलीको मनोपोलीमा यसरी हावी भए देउवा

काठमाडौं– अस्वस्थ्यताका कारण प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको उत्तर दिने कार्यक्रम स्थगित गरी सरकारी निवास बालुवाटारमा आराम गर्न बसेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि मंगलबारको दिन सुखद रहेन।

सत्ता सहयात्री तथा सदनको ठूलो दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा नै भेट्नका लागि भनेपछि ओलीले नाईँ भन्ने अवस्था पनि रहेन। 

देउवा बालुवाटार पुगेर लामो समयसम्म प्रधानमन्त्री ओलीसँग वार्तामा रहे। ओलीले नै गभर्नरमा विश्व पौडेल नहुने भनेपछि कांग्रेस–एमालेमा खटपट सुरु भएको थियो। यहि सूचना पाएका माओवादीका नेताले त सरकार ढल्न लागेको बयानबाजी पनि थालिसकेका थिए। 

माओवादी उपमहासचिव बर्षमान पुनले मंगलबार नै एउटा कार्यक्रममा भनेका थिए,‘यो सरकारमा कांग्रेस र एमालेको खटपट निक्कै गहिरो बनिसकेको छ। सरकार ढल्न लागेको छ।’

यस्तै देश दौडाहामा लागेका प्रतिपक्षी दलका नेता समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सरकार ढल्ने चर्चा चलाइरहेका बेला देउवा र ओलीको बालुवाटारमा लामो मन्थन चलिरहेको थियो। त्यो मन्थनमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक साक्षी बनेको उच्च स्रोतले जनाएको छ।

‘यहाँसम्मकी गभर्नर विश्व पौडेल नियुक्तिको निर्णय मंगलबार नै नगर्ने हो भने सरकार छाडिदिनेसम्मको चेतावनी देउवाले दिनुभयो, अनि प्रधानमन्त्री ओलीसँग अर्को विकल्प रहेन’, उच्च स्रोतले क्यानडानेपाललाई भन्यो,‘यति मात्र होइन अहिलेसम्म सरकारमा आफू हावी नभएको र प्रधानमन्त्रीको निर्णयको बचाऊ मात्र गरिदिएर गुण लगाएकोसम्मका विषय देउवाले उठाउनुभयो।’

कांग्रेस पार्टीभित्र पनि पदाधिकारी बैठकमा आफूलाई दबाब आएको र कमजोर बनिरहेकोदेखि माओवादीलगायतका दलले निशर्त प्रधानमन्त्रीका लागि अफर गरेको विषय पनि देउवाले ओलीलाई सुनाएका थिए। 

‘प्रस्ताव आइरहेका छन्। तपाई सहमतिअनुसार सहकार्य गर्न तयार नरहे हामीसँग विकल्प छ भन्नेसम्मका सारमा कुराकानी भए’, स्रोतले भन्यो,‘यसपछि गभर्नर मात्र होइन नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) र नायव महानिरिक्षक (डीआईजी) बढुवामा पनि देउवा हावी हुनुभयो।’

ओलीसँग अन्य विकल्प नभएपछि देउवाले भनेअनुसार निर्णय गर्ने भनी मन्त्रिपरिषदको बैठक डाकियो भने वार्तामा सहभागी भएका गभर्नर सिफारिस समितिका अध्यक्ष अर्थमन्त्री पौडेललाई बैठक डाक्न निर्देशन दिइयो। यसपछि सोही वार्तामा रहेका गृहमन्त्री लेखकलाई प्रहरी अधिकारीको बढुवा सूची ल्याउनका लागि पनि निर्देशन भएको बताइन्छ।

सोहीअनुसार मन्त्रिपरिषद बैठकले गभर्नरमा पौडेललाई नियुक्त गर्दै एआईजीमा सिद्धिविक्रम शाहसहित ११ जना डीआईजी बढुवाको निर्णय भएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति