नेभिगेशन
विश्व

युक्रेनमा युद्धविराम थाति राख्दै रुससँग सम्बन्ध सुधार्ने प्रयासमा ट्रम्प

काठमाडौं– गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध ‘२४ घण्टा’ भित्र अन्त्य गर्ने वाचा गरेका थिए । सदाझैँ आफ्नो बोली फेर्दै ट्रम्पले गत साता आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष भेटवार्ता भएमात्रै यस समस्याको समाधान हुने बताएका थिए । सोमबार ट्रम्प र पुटिनबीच २ घण्टा लामो टेलिफोन वार्ता भयो । तर, अझै पनि युक्रेनमा जारी युद्ध कहिले अन्त्य हुने हो भन्ने स्पष्ट छैन ।

पुटिनसँग वार्ता गरेपछि ट्रम्पले आफ्नै स्वामित्वमा रहेको ट्रुथ सोसलमा पोस्ट गरेका छन्, ‘रुस र युक्रेनले तत्कालै वार्ता थाल्ने भएका छन्…।’ तर, दुई मुलुकबीच तत्कालै युद्धविरामको सम्भावना भने देखिन्न ।


रुसी समकक्षी भ्लादिमिर पुटिनले रुस र युक्रेनबीच प्रत्यक्ष वार्ता सुचारु गर्न गरेको सहयोगप्रति ट्रम्पलाई धन्यवाद दिएका छन् । यद्यपि तत्कालै युद्धविराम हुने सम्भावना नरहेको उनले संकेत गरे ।

कृष्ण सागरको तटमा अवस्थित सोची शहरमा सञ्चारकर्मीसँगको कुराकानीमा पुटिनले भने, ‘भविष्यमा सम्भावित शान्ति सम्झौताबारे रुसले युक्रेनी पक्षसँग प्रस्ताव गर्नेछ र समझदारीबारे काम गर्न तयार रहेको छ भन्नेबारे अमेरिकी राष्ट्रपतिसँग हामी सहमत छौँ ।’


पुटिनले भनेको ‘भविष्यमा सम्भावित शान्ति सम्झौता’ भन्नुको अर्थ तत्काल युद्धविरामको सम्भावना कम रहेको अर्थमा विश्लेषण गरिएको छ । टेलिफोन वार्ताका क्रममा दुवै नेताले कुनै समयसीमाबारे चर्चा नगरेको रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।

युरोपेली नेताहरु र युक्रेनले रुस तत्काल युद्धविराम गर्न तयार हुनुपर्ने अडान राखेका छन् । तर, रुस उनीहरुको मागप्रति खासै सकारात्मक देखिन्न ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनसँगको कुराकानीअघि र पछि ट्रम्पसँग दुई पटक कुराकानी गरेका थिए । त्यसक्रममा उनले रुसले युद्धविराम गर्न अस्वीकार गरेमा प्रतिबन्धहरू थप कडा गर्न आग्रह गरेका थिए । ‘मैले पुटिनसँगको कुराकानी अघि युक्रेनको बारेमा हामीबिना कुनै पनि निर्णय नगर्न आग्रह गरेँ ।’ जेलेन्स्कीले पत्रकारहरूलाई भने ।

ट्रम्पले पुटिनसँगको कुराकानीपछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र फ्रान्स, जर्मनी, इटाली र फिनल्यान्डका नेताहरुसँग पनि टेलिफोन वार्ता गरेका थिए । रुसमाथि दबाब बढाउन युरोपेली मुलुकहरुले नयाँ प्रतिबन्धको तयारी गरिरहेका छन् । युरोपेली युनियनले छद्म रुपमा रुसी तेल ओसारपसार गर्न प्रयोग हुने १ सय ८९ पानीजहाजमाथि प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएको छ ।

ट्रम्पले भने युरोपको यस कदमप्रति समर्थन नजनाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । ट्रम्प प्रतिबन्धभन्दा पनि रुससँगको सम्बन्ध पुनःस्थापित गर्नमा बढी इच्छुक रहेको बताइएको छ ।

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता भएको केही समयलगत्तै रुसले चालकरहित हवाइ उपकरण ड्रोनले आफ्नो भूमिमा व्यापक हमला गरेको युक्रेनले जनाएको छ । युक्रेनी वायुसेनाका अनुसार ट्रम्प र पुटिनले वार्ता गरेको केही समयलगत्तै रुसले १ सय ८ वटा शाहेद र अरु धेरै प्रकारका छद्म ड्रोनले आक्रमण गरेको छ । तीमध्ये अधिकांश ड्रोन खसालिएको युक्रेनी पक्षको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व