नेभिगेशन
सुरक्षा–अपराध

सेनाको कल्याणकारी कोषमा घोटालाः ४० चेकबाट रकम अपचलन, पूर्वकर्णलविरुद्ध डिफ्युजन नोटिस!

काठमाडौं– सैनिक कर्मचारीको पसिनाबाट काटेर जम्मा गरिएको कल्याणकारी कोषको रकम अपचलन प्रकरणको अनुसन्धान थप प्रगति गर्नेगरी अगाडि बढेको छ।

यस प्रकरणमा संलग्न रहेका सेनाका केही अधिकारीलाई कोर्ट अफ इन्क्वायरी जारी राख्नुका साथै अमेरिका भासिएका पूर्वकर्णल लक्ष्मण अधिकारीविरुद्ध प्रहरीको इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरी पक्राउ गरी ल्याउने तयारी भएको उच्च स्रोतले जनायो। 

एक दुई तारे जर्नेल (सहायक रथी) रोशन खड्कासहित दुईजना सैनिक अधिकृतलाई सैनिक प्रहरी हिरासतमा राखेर कोर्ट अफ इन्क्वायरी जारी राखिएको छ। मेजर बोधराज कार्कीमाथि सेनाले कोर्ट अफ इन्क्वायरी जारी राखेको स्रोतले जनायो। 

२०७४ मा कोषमा कार्यरत रहँदा त्यहाँको रकम उनीहरूले हिनामिना गरेको आरोप छ। त्यस बेला कोषको २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ घोटाला भएको प्रारम्भिक छानबिनबाट देखिएको हो।  

सैनिक अधिकृतहरूका अनुसार उनीहरू दुवै जना जङ्गी अड्डाभन्दा बाहिर जान पाउँदैनन्। कोर्ट अफ इन्क्वाइरी टिमको अनुमतिमा मात्र परिवारसँग भेटघाट गर्न पाउँछन्। 

अवकाश प्राप्त जमदार आत्मराम थापा पक्राउ परेपछि जर्नेल र मेजरको ‘मिलेमतो’ रहेको खुल्यो। त्यसपछि उनीहरू छानबिनमा तानिएका हुन्।

पूर्वजमदार थापालाई पूर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत काठमाडौंको आदेशमा थापा थुनामा पुगेका हुन्। 

काभ्रेको पनौती नगरपालिका–१० घर भएका ४५ वर्षीय आत्मरामलाई सेनाले करिब ६ महिनासम्म आन्तरिक अनुसन्धान गरेर प्रहरीको जिम्मा लगाएको थियो। 

कल्याणकारी निर्देशनालय अन्तर्गत आवास तथा बिमा शाखाबाट फर्जी चेक जारी गरेर रकम हिनामिना भएको प्रहरी अनुसन्धानको निचोड छ। सेनाबाट राजीनामा गएका, उपदान र मृतकका परिवारले पाउने रकम आरोपीहरूले फर्जी नाममा चेक काटेर आफैँले लिएको अनुसन्धानमा खुलेको उच्च स्रोतले जनाएको छ। 

सैनिक स्रोतका अनुसार २०७३ देखि २०७५ सम्म सो शाखामा काम गरेका जमदार थापाले सो रकम आफूले बैंकबाट साटेर ल्याएर तत्कालीन मेजर लक्ष्मण अधिकारी,  हाल बहालमा रहेका मेजर बोधराज कार्की र तत्कालीन प्रमुख सेनानी हालका जर्नेल रोशन खड्कालाई नगदै दिएको बयान दिएका थिए। 

लेफ्टिनेन्ट कर्णेलबाट अवकाश पाएका लक्ष्मण अधिकारीले मानिसहरूको नाम लिस्ट दिएर सोहीअनुसार चेक तयार गर्न लगाउने गरेको थापाको बयानअनुसार अनुसन्धानका लागि तिव्रता दिइएको छ। अधिकारीमाथि अनुसन्धान गर्न उनलाई नेपाल झिकाउनका लागि प्रक्रिया सुरु गरिएको हो।

चितवनको रत्ननगर नगरपालिका–१४ घर भएका ४५ वर्षीय अधिकारी अमेरिकामा रहेका कारण प्रहरीमार्फत डिफ्युजन नोटिस जारी गर्नका लागि जङ्गी अड्डाले आवश्यक कागजसहित समन्वय गरेको प्रहरी उच्च स्रोतले क्यानडानेपाललाई जानकारी दियो। 

दुई पटकमा १४४ र ४० थान चेकबाट सो रकम निकालेर हिनामिना गरेको, २०७४ कात्तिक १३ देखि २०७५ भदौ २६ सम्ममा १४४ थान चेक सटही गरेको पनि भेटिएको छ।

२०७३ फागुन ९ देखि २०७५ असोज १७ सम्मको अवधिमा ४० थान चेकबाट रकम अपचलन गरेको भेटिएको बताइएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

मिस ‘हनिट्रयाप’का नाममा...