नेभिगेशन
राजनीति

भाजपा पूर्वउपाध्यक्ष तथा आरएसएसका उच्च ओहदाका कोश्यारीले ज्ञानेन्द्र शाहलाई भेट्लान कि नभेट्लान्?

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)का पूर्वउपाध्यक्ष तथा नेपालसँग सीमा जोडिएको उत्तराखण्डका पूर्वमुख्यमन्त्री समेत रहेका भगतसिंह कोश्यारी अहिले नेपालमा उच्च तहका राजनीतिक भेटमा सक्रिय रहेका छन्। 

उनको यो भेट भाजपाका विदेश विभाग प्रमुख बिजय चौथाईबालेपछि चलिरहेको छ। नेपालको आन्तरिक राजनीतिलाई मिहिनताका साथ हेरेको भाजपाका उच्च तहका नेताको उच्च राजनीतिक भेट निक्कै अर्थ राख्ने कसीमा हेरिन्छ। 

कोश्यारीले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलगायत सत्ताधारी दलका नेतासँग भेट गरेका छन्। 

ति मध्य चौथाईबाले र कोश्यारीले महत्वका साथ भेट गरेका नेता हुन् पूर्वपरराष्ट्रमन्त्री एनपी साउद हुन्। ‘नेपालको आन्तरिक राजनीतिक विषयमा उहाँको चासो स्वभाविक नै थियो’, साउदले भनेका छन्। 

यसबाहेक कोश्यारी आफैंले पनि प्रधानमन्त्री ओलीलाई राम्रो गरी अघि बढ्नका लागि सुझाव दिएको बताएका छन्। 

नेपालमा राजसंस्थावादीको आन्दोलन घोषणाको संघारमा कोश्यारीसहित भारतीय उच्च अधिकारीको भ्रमणलाई अनेक कोणमा ब्याख्या गरिएको छ।

अझ भारतीय सत्तामा प्रभाव राख्ने हिन्दूवादी राष्ट्रिय स्वयम् सेवक दल (आरएसएस)का उच्च तहका नेता समेत रहेका कोश्यारीको भेट राजावादी शक्तिसँग हुने या नहुने भन्ने पनि टिका टिप्पणी भैरहेका छन्।

उनको भ्रमण अनौपचारिक भनिएको छ। खासमा कोश्यारी आफैंले पनि यसलाई औपचारिक नभई अनौपचारिक भनेका छन्। यति मात्र होइन उनी गैरराजनीतिक भ्रमणका क्रममा रहेको र राजनीतिक कुराकानीमा नरहेको पनि बताउन रुचाउँछन्। तर, उनले गरेको उच्च तहको राजनीतिक भेटमा उनको प्रतिक्रिया छ,‘मेरा सबै प्रकारका साथी छन्। दक्षिणपन्थी, मध्यपन्थी र बामपन्थी साथीहरुसँग हुने भेट स्वभाविक हुन्।’

यसो हुँदै गर्दा दक्षिणपन्थी विचार र सिद्धान्तका पयार्य बनेका ज्ञानेन्द्र शाह र राजावादी शक्तिसँग उनले भेट गर्लान् कि नगर्लान् भन्ने पनि चर्चा छ। उच्च स्रोतले भन्यो,‘गोप्य रुपमा भए थाहा छैन। कोश्यारीको भेट राप्रपाका नेतादेखि राजावादी शक्तिसँग पनि नहुने भन्ने सूचना छ।’

यसअघि नेपाल आएका भाजपाका विदेश विभाग प्रमुख बिजय चौथाईबालेले भने राप्रपाका नेता भेटेका थिए। उनले राप्रपाका मात्र नभएर प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका पदाधिकारीलाई समेत भेट गरेका थिए। 

नेपालमा बदलिँदो राजनीतिक परिवेश र राजावादी शक्तिको आन्दोलन घोषणाको संघारमा भाजपाका उच्च तहका नेताको काठमाडौं भ्रमणलाई अनौपचारिक र स्वभाविक मात्र पनि मान्न नहुने विश्लेषण एकथरीको रहेको छ। तर अहिले भारत र पाकिस्तानको युद्ध चलेको अवस्थामा नेपालको समर्थन आर्जनका निम्ति पनि यस्ता भ्रमण हुन सक्ने अर्कोथरी आँकलन गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति