नेभिगेशन
राजनीति

गभर्नर नियुक्तिः भट्टलाई ब्रेक लगाउने ढुङ्गानालाई हटाउन कांग्रेसको दबाब

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट भट्टले दिएको राजीनामा २१ दिनसम्म पनि कायममुकायम गभर्नर नीलम ढुङ्गानाले स्वीकृत गरेकी छैनन्

काठमाडौं– राष्ट्र बैंकको गभर्नरमा गुणाकर भट्टको नामबाट पछि हट्न नमानेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा स्वीकृत नगर्ने कायममुकायम गभर्नर निलम ढुङ्गानालाई हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन्।

शुक्रबार बुढानिलकण्ठमा पदाधिकारी बैठक राखेका देउवाले गभर्नर कांग्रेसको भागमा रहेको र चाँडै नियुक्ति हुने बताएका थिए। त्यसअघिको रात प्रधानमन्त्री ओलीसँग भेट गरेका देउवाले भट्टलाई जुनसुकै हालतमा नियुक्त गर्नका लागि अन्तिम विकल्पमा ढुङ्गानामाथि कारबाही गरिनुपर्ने शर्त अघि सारेको उच्च स्रोतले जनाएको छ।

‘डेपुटी गभर्नर हटाउने कांग्रेसको चाहना होइन तर अड्डी कस्ने हो भने निलमजीलाई कारबाही गरिनुपर्छ’, उच्च स्रोतले भन्यो,‘प्रधानमन्त्रीसँग देउवाले यहि अडान राख्नु भएको छ।’

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट भट्टले दिएको राजीनामा २१ दिनसम्म पनि कायममुकायम गभर्नर नीलम ढुङ्गानाले स्वीकृत गरेकी छैनन्।

उनी आफैँ गभर्नरको प्रतिस्पर्धामा रहेकोले कुनै हालतमा भट्टको राजीनामा स्वीकृत नगर्ने अडान लिएपछि सरकारले गभर्नर नियुक्ति प्र्रक्रिया समेत अघि बढाउन पाएको छैन। 

देउवाले पदाधिकारी बैठकमा आफूले गुणाकर भट्टलाई गभर्नर बनाउन भनेर प्रधानमन्त्रीलाई नाम दिएको ब्रिफिङ गरेका थिए।

यद्यपि, प्रधानमन्त्री ओलीले एकपटक कुरा गरे ढुंगाना भट्टको राजीनामा स्वीकृत गर्न तयार हुनेमा कांग्रेसका नेताहरू आशावादी छन्। प्रधानमन्त्री ओलीले पनि ढुङ्गानालाई मनाउने प्रयत्न गर्नेछन्। 

गभर्नर नियुक्तिको विषय पेचिलो बनिरहेको बेला बिहीबार प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, अर्थमन्त्री पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल भएको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति