काठमाडौं - ‘सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्याङ टाँग्न पनि कठिन भयो’, रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भने ।
एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो ।
सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए ।सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ ।
विभागका निर्देशक लीलाधर अवस्थीले भने, ‘सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ र अब अन्य आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन् ।’ मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको उनले बताए । सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने बताए ।
आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकाय र एक्सपीडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उनले उल्लेख गरे । एटके एक्सपीडिसन कम्पनीका प्रवन्ध निर्देशक समेत रहेका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक संख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताए ।
उनले भने, ‘मौसम अनुकूल छ । आजदेखि विदेशी आरोहीको आरोहण सुरु हुन्छ । अहिले धेरै संख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन् ।’
सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतिक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन् । आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवत जावत गरिरहेका हुन् ।
मे १२ देखि १५ सम्म ‘समिट वीन्डो‘ छ र उक्त अवधिमा धेरै आरोहण हुने एक्सिपीडिसन कम्पनीको अनुमान छ । मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पकट आरोहणमा जाम हुनसक्ने जनाइएको छ ।
सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ्गको जिम्मेवारी पाएको एटके कम्पनीका प्रवन्ध निर्देशक शेर्पाले भने, ‘यो पटक सगरमाथामा बाक्लो हिउँले डोरी टाग्न गाह्रो भएको छ ।
पहिलो वीन्डोमा धेरै आरोहण हुने पूर्वानुमान गरिएको छ।’ अशोक लामाको नेतृत्वमा सातजना शेर्पा टोली सगरमाथाको चुचुरामा पुग्न सफल भएको हो । उक्त टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् । यो पटक सगरमाथाको रोप फिक्सिमा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ
सगरमाथामा मात्रै नभई ल्होत्से र आमादब्लम हिमालमा पनि बाक्लो हिउँका कारण बाटो बनाउन कठिन भएको जनाइएको छ ।
जलवायु परिवर्तनको प्रभावले आरोहक्षण क्षेत्रमा बढी रक भेटिएकाले बाटो बनाउने कार्य कठिन भएको शेर्पाले जनाएका छन् । खराब मौसमका कारण सगरमाथाको दोश्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ । चौथो शिविरबाट भने दुई दिनमा शेर्पा टोली चुचुरोमा पुगेका थिए ।
‘बाटो राम्रो छ, मौसम सफा छ । सयौ आरोही आरोहणका लागि प्रतिक्षरत छन्’, आरोही शेर्पाले भने, ‘मे ११ देखि १५ सम्म धेरै समिट हुने सम्भावना छ । अर्को वेवदर वीन्डो मे १९ देखि २४ सम्म रहेको छ ।’ यो याममा विश्व कीर्तिमानी आरोशी कामीरिता शेर्पा ३१औं पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने तर्खरमा छन् ।
टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा सगरमाथा पुगेका छन् ।
त्यस्तै अर्का विश्व कीर्तिमानी आरोही सानु शेर्पा यो सिजनमा अति विशिष्ट पाहुना लिएर आरोहणमा गएका छन् । आठ हजार मिटरभन्दा माथिका हिमाल दुई पटक सफल आरोहण गरेका उनले तेस्रो पटक आठ हजार मिटरमाथिका हिमाल आरोहण गरेर आफ्नै नामको कीर्तिमान भङ्ग गर्ने योजनामा छन् ।
भारतकी सबैभन्दा ज्येष्ठ नागरिकले आरोहण गर्ने तयारीमा छिन् । यो पटक एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा गरी ५५ जना आरोही छन् ।
समुद्री सतहदेखि पाँच हजार ३६४ मिटरको उचाइको आधार शिविरमा अध्याधिक चिसो रहेको शेर्पाले जानकारी दिए । माइनस २० डिग्रिको चिसोको प्रवाह नगरी आरोही आरोहण अभ्यासमा तल्लिन छन् । शिविरमा चहलपहल छ ।
शेर्पा ‘हाइ क्याप्स सेट’ (तेस्रो र चौथो शिविर व्यवस्थापन) मा छन् भने आरोही लुक्ला नाम्चे, वेसक्याम्पमा छन् । आधा जसो आरोही तेस्रो शिविरतिर पुगेका छन् ।
अहिलेसम्मको अवस्था हेर्दा मे १४ र १५ मा सगरमाथामा बढी ट्राफिक जाम हुने सम्भावना रहेको प्रवन्ध निर्देशक शेर्पाले बताए । यो पटक धेरै आरोहीलाई सहज होस भनेर चाँडो सगरमाथाको आरोहण खुलाइएको उनको भनाइ छ ।
सन् २०१३ र २०१७ मा सगरमाथाको रोप फिक्सिङ्ग गरेका लाक्पा शेर्पाले जलवायु परिवर्तनका कारण हिउँ पक्लिएर पछिल्ला वर्षहरुमा सगरमाथा क्षेत्रमा बढी रक भेटिएको छ । हिउँ भएको ठाउँमा बाक्लो हिउँ परेको छ ।
खुम्बु आइसफलमा बढी रक देखिएकोले सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसिसी) ले मे २९ मै बाटोका भर्याङ उठाउने जनाएको छ ।
पर्यटन विभागबाट ७५ दिनको आरोहण अनुमति लिएर आरोही सगरमाथा गएका छन्।सगरमाथा आरोहण ४० दिनको हुन्छ । आरोही सगरमाथाको चुचुरोमा पुगेपछि दुई दिनभित्र आधारशिविर झर्छन् । उनीहरुले १० देखि १५ दिन तेस्रो शिविरसम्म अभ्यास गर्छन् ।
सभेने समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले मौसम अनुकूल रहेकाले यो पटक उत्साहवद्र्धक रूपमा सगरमाथा आरोहण हुने अनुमान गरिएको बताए । उनको कम्पनीमार्फत यो पटक पनि १०० भन्दा धेरै आरोही सगरमाथा आरोहणमा गएका छन् । एक्सपीडिसन अपरेटर एसोसिएसनले दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ्ग गरेको छ । सपीसिसीले आधार शिविरदेखि दोस्रो शिविरसम्म खुम्बु आइसफल क्षेत्रको बाटो बनाएको थियो ।
सगरमाथा चढ्न ४२१ लाई अनुमति
पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक-दुई टीम थपिने विभागको अनुमान छ । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ । सबै हिमालबाट ७८ करोड संकलन भएको छ ।