नेभिगेशन
राजनीति

राजसंस्थावादी शक्तिको आन्दोलन घोषणामा भाजपा विदेश विभाग प्रमुख र कोश्यारी भ्रमणको साइनो छ?

काठमाडौं– राजसंस्थावादी शक्तिको आन्दोलनका संयोजक नवराज सुवेदीको नेतृत्वमा दलीय र निर्दलीय शक्ति अनिश्चिकालिन आन्दोलनका लागि तयार भएका छन्। 

यो तयारीसाथ नेपालमा हिन्दूत्व र राजसंस्थाका निम्ति निरन्तर आन्दोलनमा जाने घोषणा समेत भएको छ।

यो आन्दोलनमा छरिएर बसेका राजावादी शक्ति एक कित्तामा उभिएका छन्। सुवेदीको नेतृत्वमा राजसंस्थावादी राप्रपा, राप्रपा नेपालसहितका शक्ति निरन्तर आन्दोलनमा जाने सहमतिसहितको घोषणा भएको छ। 

यो संयोग यस्तो बेला भएको छ कि जहाँ हिन्दूवादी शक्ति रहेको भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख बिजय चौथाईबाले नेपालको दुई दिने भ्रमण सकी फर्केका छन् भने पूर्व उपाध्यक्ष समेत रहेका भगवतसिंह कोश्यारी काठमाडौंमा उच्च स्तरीय राजनीतिक दलका नेताको भेटका क्रममा सक्रिय रहेका छन्।

कतिपयले राजसंस्थावादीको निरन्तर आन्दोलनको घोषणा र भारतीय जनता पार्टीका नेताको नेपाल भ्रमणको साइनो हुन सक्ने लख काटेका छन्। यद्यपि यस विषयको आधिकारिक पुष्टिचाहिँ हुन सकेको छैन। 

तर उच्च स्रोतले भन्यो,‘यसमा सत्यता नहुने भन्ने कुरा छैन। नेपालका हरेक आन्दोलनमा भारतीय पक्षको संलग्नता रही आएको छ।’

तर यस पटकको निरन्तर आन्दोलनको घोषणाको पटकथा भने ज्ञानेन्द्र शाह आफैंले तयार पारेको पनि दाबी गरिएको छ। शाह केही दिनको लामो बसाईका क्रममा नगरकोटमा रहेको र राजनीतिक भेट तिव्र पारेका विषय सतहमा आएका छन्।

नगरकोटको सोल्टी वेस्ट इन रिसोर्टमा बसेर उनले राजावादी दल र अभियन्ताहरूसँग छलफल गरेका थिए। 

वैशाख १५ गते निर्मल निवासबाट उनी नगरकोट पुगेका थिए। उनी सरकारले उपलब्ध गराएको सशस्त्र प्रहरीका डीएसपीसहितको सुरक्षा टोली लिएर नगरकोट पुगेका हुन्। 

नगरकोटमा बसेर शाहले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरूलाई भेटेको बताइन्छ।

यसअघि राजावादी दलहरू एकजुट नहुँदा राजावादी आन्दोलन नै कमजोर भएपछि त्यहाँ बसेर उनले नयाँ रणनीति बनाउन थालेका छन्। उनले नगरकोटमा छलफल थालेको १० दिनपछि बिहीबार मात्रै राजावादी शक्तिहरू एकजुट भएर आन्दोलन गर्ने घोषणा गरेका थिए। 

राजतन्त्र पुनस्र्थापनाका लागि भन्दै गठन गरेको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ। समितिका संयोजक सुवेदीले बिहीबार राप्रपा र राप्रपा नेपालका अध्यक्षलाई छेउमा राखेर आन्दोलनको घोषणा गर्दै यसमा राजावादी सम्पूर्ण शक्तिहरू एकजुट हुने दाबी गरेका छन्। घोषणा कार्यक्रममा राजेन्द्र लिङ्देन र कमल थापा पनि सहभागी थिए। 

कार्यक्रमपछि राप्रपा नेपालका अध्यक्ष थापाले पहिलोपटक हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाका निम्ति सबै शक्तिहरू एकजुट भएको दाबी गरेका छन्। थापाले राप्रपा नेपालसँगै, राप्रपा, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेना लगायत ४४ समूह एकजुट भएको बताएका छन्।  

‘विदेशीको एजेन्डामा होइन, मौलिक एजेन्डाका लागि आन्दोलन हुन्छ। हामीले धर्म संस्कृति पनि जोगाउनुपर्ने आवश्यक समय छ’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने,‘आन्दोलन सृजनात्मक र धर्म तथा राजसंस्था जोगाउनेगरी हुनेछ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति