नेभिगेशन
राजनीति

बालेनले प्रशासकीय अधिकृत सरुवा माग्दा नकारेका सामान्य प्रशासनमन्त्री गुप्ता घुसिया, अडिओ समेत बाहिरियो

काठमाडौं– सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस मागेको अडिओ सतहमा आएको छ। उनी तिनै मन्त्री हुन् जसलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईलाई सरुवा गर्न माग गर्दा नकारेका थिए। 

यो घुस काण्डको अडिओका कारण मन्त्री गुप्ता र प्रशासकीय अधिकृत गुरागाँईबीच पनि कुनै प्रकारको सम्झौता भएको हुन सक्ने शंकाको सुविधा मिलेको छ।

मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको विवरण सतहमा आएको हो।

मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको छुट्टै अडिओ पनि सार्वजनिक भएको समाचारहरुमा उल्लेख छन्। 

जसमा उनले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई पनि पोलेका छन् । 

१० मिनेट लामो अडिओ संवादमा मन्त्री गुप्ता एक महिलासहित बिचौलियासँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्न आर्थिक लेनदेनको कुरा गरिरहेका सुनिएको दाबी गरिएको छ।

पुरानै चिनजान र पटक–पटकको लेनदेनजस्तो गरी मन्त्री र बिचौलियाबिच अनौपचारिक संवाद अडिओमा सुनिएको पनि विवरणमा उल्लेख छन्।

एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्नका बिचौलियाले २५ लाख घुसको प्रस्ताव गरेको पनि दाबी छ। 

यसले के देखाउँछ भने हालको सरकारमा एमालेका मन्त्री व्यापक भ्रष्ट रहेका छन् भने गुप्ता आफैं पनि रकम तिरेर मन्त्री भएको हुन सक्ने आशंका गरिन्छ। 

किनभने मन्त्री बन्नका लागि रकम नतिरेको भए उनले यो तहको घुस काण्ड मच्चाउने थिएनन्।

संवाद भएकै १५ लाख र भोलिपल्ट थप १० दिने अडिओमा सुनिन्छ।

यो प्रकरण गत बर्षको पुस २८ गते भएको अनुमान गरिएको छ भने त्यसको कारण २९ गते भूमि व्यवस्था मन्त्रालयले ७० जिल्लामा आयोग अध्यक्ष नियुक्त गरेको थियो। 

दुईवटा विषय जोडेर छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको छ। त्यसमा कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गरिदिने र यही भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्तिको विषय छ। 

मालपोत कार्यालय प्रमुखको थमौतीका लागि मन्त्री गुप्ताले ५३ लाख रुपैयाँ लिएको दाबी उजुरीमा छ।

यो विषय पहिला प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगेको क्यानडानेपालले पत्ता लगाएको छ। तैपनि ओलीले उनलाई मन्त्रीबाट बर्खास्त गरेका छैनन्। उनलाई केरकार गरिए पनि हेरफेरका क्रममा हटाउने तयारी ओलीले थालेका थिए। 

निवेदकले बुझाएको पैसाको नम्बर र नोट तस्बिरसहित उजुरी गरेका छन्। 

‘...संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कास्की जिल्लास्थित तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गरिदिन्छु भनी घरजग्गा व्यवसायीसँग भनी ५३ लाख रुपैयाँ लिएको पैसाको नम्बर र नोटको तस्बिर यसैसाथ संलग्न छ,’ अख्तियारमा परेको उजुरीमा उल्लेख भएको समाचार प्रकाशित छ।

उही घरजग्गा व्यवसायीबाट मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाख रुपैयाँ घुस डिल गरेको अडिओ प्राप्त भएको पनि उजुरीमा खुलाइएको छ । यसमा पनि पैसाको नोट नम्बरसहित उजुरीकर्ताले अख्तियारमा उजुरी गरेका छन्।

काठमाडौंका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि निरन्तर भन्दा पनि नगर्ने अडान लिएका यीनै मन्त्री विभिन्न मिडियामा बयानबाजीमा उत्रिएका थिए। 

उनले नै काठमाडौं महानगरपालिका प्रमुखको हुर्मत लिनेगरी सरुवा नहुने पनि दाबी गरिरहेका थिए। यसकारण उनी र गुरागाँईबीच स्वार्थको सम्बन्ध हुन सक्ने शंकाको लाभ स्वभाविक छ। किनभने कर्मचारी सरुवाको सम्पूर्ण जिम्मेवारी मन्त्री गुप्ताको हुन्छ। 

यति मात्र होइन, अर्काको मन्त्रालयको समेत डिल गर्ने गुप्ताले देशभरीका कर्मचारी सरुवा र बढुवामा कतिसम्म चलखेल गरे होलान् भन्ने नयाँ प्रश्न खडा भएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति