नेभिगेशन
राजनीति

हिन्दू राष्ट्रको माग उठिरहेका बेला कांग्रेस सभापति देउवाले पाएको सुझाव कति अर्थपूर्ण?

दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काले हिन्दू राष्ट्रको माग गरी तत्कालिन संविधान सभालाई ज्ञापनपत्र बुझाएका थिए

काठमाडौं– आफूलाई पक्राउ गरी थुनेका ज्ञानेन्द्र शाहलाई राजा मान्न नसकिने बताए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले ‘हिन्दू राष्ट्र’ हुँदैन भनेका छैनन्।

नेपाली कांग्रेसमा १८ बर्षअघि नै बहसमा आएको ‘बेबी किङ’का पक्षमा देउवा रहन सक्ने कतिपयले आँकलन गरेका छन्। 

यस आँकलनका पछाडि देउवाले हालै बुझेको हिन्दू राष्ट्र कायम गर्नुपर्ने सुझाव मात्र होइन महासमिति बैठकमा उठ्न सक्ने सवालको निरुपण समेत मानिन्छ।

हालै नेपाली कांग्रेसले सातै प्रदेशबाट सङ्कलन गरेको संविधान संशोधनसम्बन्धी सुझावको एउटा प्रतिवेदनमा हिन्दू राष्ट्र स्थापनाको माग पनि परेको थियो जुन राजसंस्था पक्षधर शक्तिहरूले लामो समय उठाउँदै आएका छन्।

नेपालमा हिन्दू राष्ट्र स्थापनाको मुद्दाप्रति भारतको अहिलेको सत्ता संस्थापनको झुकाव रहेको धेरैले ठान्ने गरेको पाइन्छ। कतिपयले त त्यस्तो शक्तिले नेपालमा दीर्घकालमा हिन्दूवादी राजनीतिक दल नै स्थापना होस् भन्ने चाहेको हुन सक्ने ठान्छन्।

यसै हप्ता भारतीय हिन्दूत्ववादी कट्टरपन्थीको आडमा नेपालमा राजतन्त्र फर्काउन प्रयास भइरहेको भन्दै एउटा नागरिक समूहले विज्ञप्ति नै जारी गरेको थियो।

राजनीतिक विश्लेषक सीके लाललाई उदृत गरी बीबीसी नेपाली न्यूज लेख्छ,‘दिल्लीले हस्तक्षेप गर्नुभन्दा पनि उसलाई निम्त्याउने प्रवृत्ति (राजा) त्रिभुवनकै पालादेखि छ। कोही भनिरहेका होलान् हामी हिन्दू राष्ट्र गरिदिन्छौँ अनि कोही हामी भुटान जस्तै बन्न तयार छौँ पनि भनिरहेका होलान् तर त्यतिले मात्र हुँदैन। भारत एक्लैले चाहेर हुँदैन। चीन कम्ती शक्तिशाली छैन भन्ने कुरा सन् २०१५ को संविधान जारी भएको ताका नै देखियो।’

उनले भने, ‘राजावादी र गणतन्त्रवादी दुवैको नेतृत्व विदेशीहरूको दृष्टिकोणबाट हेर्दा विश्वसनीय देखिएको छैन। दुवै पक्ष अविश्वसनीय भएपछि लड्न दिने अनि जो जित्न लागेको छ, त्यसको पक्षमा उभिने त हो उनीहरू।’

उनले नेपालमा अराजकता उत्पन्न भएर त्यसले आफ्नो सामरिक हितमा धक्का दिने अवस्था देखिएको खण्डमा भने बाह्य शक्तिहरूले ’एक्लै वा अरू शक्तिसँग मिलेर हस्तक्षेपको कुरा’ सोच्न सक्ने बताए।

कतिपयले हिन्दू राष्ट्रको अभियान लक्षित राजनीतिले केही समय गति लिन सक्ने आकलन गरिरहँदा त्यस्तो परिवर्तन सहज नभएको राजनीतिशास्त्री कृष्ण खनालजस्ता धेरैले ठान्छन्।

राजतन्त्र पक्षधर शक्तिहरूले राजसंस्था पुनस्र्थापना बिनाको हिन्दू राष्ट्र स्थापना आफूलाई मान्य नहुने बताउने गरेको पाइन्छ।

१८ वर्षअघि गद्दी त्याग्दा आफू देश छाडेर नजाने बताएका पूर्व राजा ज्ञानेन्द्रले हालै आलमदेवीदेखि गोरखनाथको मन्दीर पुगेर पूजा गरेका थिए।

त्यसलाई कतिपय राजवादीहरूले प्रतिकात्मक कदम भन्दै राजसंस्था पुनस्र्थापनाको आन्दोलनको उद्घोषका रूपमा उल्लेख गरिरहेका छन्।

राजावादी र गणतन्त्रवादी यी दुई परस्परविरोधी राजनीतिक दर्शनका अनुयायी या पक्षधरले काठमाडौंका सडक तताउने क्रम केही समय जारी रहने सङ्केतहरू छन्।

काठमाडौंका सडकमा सुरु हुन लागेका प्रदर्शनहरू प्रतिकात्मक मात्रै हुनेछन् वा कुनै ठोस परिणाम दिनेछन् अहिले नै भन्न गाह्रो देखिन्छ।

त्यसो त सदनको ठूलो दल कांग्रेसको भूमिका यस विषयमा मिहिन र निर्णायक हुन सक्ने दाबी गरिन्छ। किनभने कांग्रेसको एउटा ठूलो कित्ता हिन्दू राष्ट्रको पक्षमा छ। 

कांग्रेसको हिन्दू राष्ट्रका पक्षधर तथा अभियन्तासमेत रहेका सांसद शंकर भण्डारी भन्छन्,‘नेपालको मौलिकताको विषयमा सम्झौता गरिएको हो, सदाका लागि छाडिएको होइन।’

उनका अनुसार ०७२ सालमा संविधान जारी गर्नुपर्ने बाध्यताका कारण पछि मिलाउनेगरी तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको आश्वासनले रोकिएको थियो। 

कोइरालाको निधनपछि कांग्रेस सभापतिमा देउवाको उदय भयो। यो उदयसँगै बहुमत महासमिति सदस्यले हिन्दूत्वको पक्षमा लिखित दस्ताबेज बुझाएर छलफलको माग गरेको थियो। तर, अनुकूलता नहेरी देउवाले उक्त प्रस्तावमाथि बहस नचलाइएको कांग्रेस नेताहरूको भनाई छ। 

यसअघि दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काले हिन्दू राष्ट्रको माग गरी तत्कालिन संविधान सभालाई ज्ञापनपत्र बुझाएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

एमाले संसदीय दलको बैठक आज बस्दै