नेभिगेशन
राजनीति

भारतीय प्रधानमन्त्री मोदीको ‘अघोषित दूत’ बनेर काठमाडौं आएका थिए चौथाईबाले, विषय गहिरो रहेछ

काठमाडौं– नेपालको आन्तरिक राजनीतिक व्यवस्थामा समस्या आएपछि भारतले त्यसको निराकरणका नाममा घोषित र अघोषित संलग्नता देखाउने गरेको छ।

नेपालको संविधान २०७२ जारी गर्ने बेला तत्कालिन विदेश सचिव र हालका भारतका विदेशमन्त्री एस जयशंकर दुई दिनका लागि नेपाल आएका थिए। 

उनले संविधान जारी गर्ने समयलाई धकेल्नका लागि भनेका थिए। तर, नेपालका राजनीतिक दलले त्यो निर्णय मानेनन्। फलतः नेपालले नाकाबन्दीका मार खेप्न परेको थियो।

त्यसअघि नेपालका लोकतन्त्र स्थापनाका बेला तत्कालिन समयमा राजा ज्ञानेन्द्र र सात राजनीतिक दलसँगको संवादका निम्ति दुई दिनको समय मिलाएर डा. करण सिंह आएका थिए। 

नेपालका राजनीतिक दलले सिंहको सुझाव पनि मानेनन् र नेपालमा राजसंस्थाको भूमिका खुम्च्याउँदै लोकतन्त्रको स्थापनापछि गणतन्त्र घोषणाका समयमा राजसंस्था नै नरहने निधो भयो। 

यो उपक्रममा भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख बिजय चौथाईबाले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीका अघोषित राजनीतिक दूतका रुपमा बुधबार आए र शुक्रबार फर्किए। 

यी दुई दिनमा उनको राजनीतिक भेटघाटबाहेक केही पनि भएनन्। उनले ४८ घन्टाको बसाईका क्रममा कम्तिमा नेपालका विभिन्न राजनीतिक दलका २० भन्दा बढी नेतासँग संवाद गर्न भ्याए। 

प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि कांग्रेसका महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा, रास्वपा उपसभापति डीपी अर्याल, माओवादी उपमहासचिव बर्षमान पुनदेखि मधेसवादी दलका नेतालाई भेट गरेका थिए। 

उनको भेटको स्पष्ट सन्देश थियो,‘नेपालको राजनीतिक अस्थिरता थप विकराल नहोस्।’

भारत र पाकिस्तान युद्धको संघारमा रहेका बेला चौथाईबालेले राजनीतिक दलका नेतासँगको भेटका क्रममा राजसंस्था र राजवादी आन्दोलनका बारेमा पनि चासो राखेका थिए। यसलाई थप गिजोल्दा नेपालको आन्तरिक सुरक्षासँगै भारतको सुरक्षामा पनि प्रभावित हुने बताइएको छ।

माओवादी उपमहासचिव बर्षमान पुनले चौथाईबालेले नेपालमा राजावादी र हिन्दूत्वका पक्षमा भाजपा र भारत सरकारको समर्थन नरहेको सन्देश दिएको दाबी गरे पनि विषय फरक रहेको बताइन्छ। 

नेपालमा राजावादी शक्तिसहितलाई समेटेर नेपालको राजनीतिलाई अस्थिर नबनाउनका लागि चौथाईबालेको आग्रह थियो। उच्च स्रोतले भन्यो,‘अहिले नेपालको राजनीति जति अस्थिर भयो त्यति भारतकोे आन्तरिक सुरक्षामा समस्या हुने भएपछि चौथाईबालेले सबै नेतालाई त्यहि सन्देश दिनुभएको छ।’

यसबाहेक भारत र पाकिस्तानको विवादको विषयमा नेपाल सरकारले र खासगरी सदनमा प्रतिनिधित्व गर्ने दलको समर्थनमा सर्वसम्मतीले भारतको पक्षमा उभिनका लागि पनि चौथाईबालेको आग्रह रहेको बुझिएको छ।

‘यस पटक नेपालको आन्तरिक राजनीतिक अस्थिरताको विषयमा भारतीय जनता पार्टी र खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीको चासोसहित पाकिस्तानसँग भारतको समस्यामा नेपालको पक्षधरताको आशमा उहाँ आउनुभएको रहेछ’, भेटघाट गरेका मध्य एक नेताले भने,‘नेपालमा शान्ति कायम रहेको खण्डमा भारतमा पनि अहिले सहज हुने उहाँको सन्देश थियो।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति