नेभिगेशन
राजनीति

बाबुराम भट्टराईले भने- राजनीतिक दलहरू राज्य दोहनको साधन बने

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा दलहरू चहिने तर राजनीतिक दल स्वार्थ समूह बनिरहेको टिप्पणी गरे । डा. भट्टराईले लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुने बताए । उनले राजनीतिक दलहरूको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गरे ।

नेपालका राजनीतिक दलहरू विचार, राजनीति, सिद्धान्त, आदर्शभन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सीमित रहेको उनको भनाइ छ । उनले राजनीतिक दलहरूले सरकारलाई बिना लगानी आर्थिक उपार्जन गर्ने माध्यम बनाएको बताए।

राजनीतिक दलहरू विचार, सिद्धान्त, आदर्श, नैतिकताकावाहक हुन नसकेको उनको आरोप छ । अध्यक्ष भट्टराईले नेपाली अर्थतन्त्रले गुणात्मक फड्को मार्न गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण हुने बताए । डा. भट्टराईले दलीय संकीर्णताले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विभाजन आएको बताएका छन्।

‘दलसँग आबद्ध हुनुपर्छ । तर, मुलुक बाहिर एनआरएनएलाई साझा रुपमा राख्नुपर्छ। दलीय संकीर्णतामा जानु हुँदैन,’ गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘अहिले एनआरएनएमा विभाजन देखिनुको अन्तर्य दलीय संकीर्णता हो ।’ उनले एनआरएनको विवाद अड्डा अदालतमा जानु आवश्यक नभएको बताए । ‘अदालतको एकताको भाव एनआरएनएमा कायम राख्नुपर्छ । यो महाधिवेशनबाट छुटेका साथीहरुले प्रतिष्ठाको विषय नबनाएर एनआरएनएलाई एकताबद्ध बनाउनु पर्छ,’ उनले भने ।

नेपालमा सबैभन्दा बढी पुँजी, ज्ञान र सीपको आवश्यकता भएकाले संविधानमा लेखिएबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक सहितको अधिकारको नागरिकता दिनुपर्ने उनले बताए । ‘एनआरएनलाई नागरिकता दिन कुनै छेकबार गर्नु हुन्न । संविधानको भावनाविपरीत नीति नियम आउनु हुँदैन,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति