नेभिगेशन
राजनीति

आमालाई बाटो खुल्यो, छोरीलाई ओलीको निम्तो

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलको राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बाटो खुलाएर सदस्यता नविकरण गराएपछि छोरी उषाकिरण भण्डारीलाई पनि सक्रियताका निम्ति निम्तो दिएका छन्।

मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पुगेका बेला ओलीले उषाकिरणलाई एमालेको सक्रिय राजनीतिमा आउनका लागि भनेका थिए।

‘उषाकिरणजी पनि सक्रिय राजनीतिमा आउनुहोस् अव युवाले नै एमाले हाँक्ने हो’, ओलीको भनाई थियो। 

उषाकिरण एमालेका तत्कालिन महासचिव मदन भण्डारी र विद्यादेवीकी छोरी हुन्। 

उषाकिरण मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष हुन्, जसले सामाजिक, शैक्षिक, र बौद्धिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। उनको नेतृत्वमा फाउन्डेशनले विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। 

राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किए पनि, उषाकिरणको प्रारम्भिक रुचि सामाजिक सेवामा केन्द्रित थियो। 

तर उनी एमालेको राजनीतिबाट भने टाढा रहिनन्। अखिल नेपाल महिला संघबाट राजनीतिमा प्रवेश गरेकी भण्डारी एमाले जिल्ला कमिटी काठमाडौंमा मनोनित भएकी थिइन्।

मदन भण्डारी फाउन्डेसनको नेतृत्व गरिरहेकी उनी चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं भ्रमणमा आउँदा प्रथम महिलाको हैसियतमा स्वागतमा सरिक थिइन्।

भण्डारी यसअघि नै सक्रिय राजनीतिमा भए पनि संसदीय प्रतिष्पर्धामा ल्याउने तयारी समेत भएको थियो। तर, उनी त्यसबेला तयार भइनन्। 

चुनावका बेला उनी काठमाडौं–२ को उम्मेदवार बन्ने तयारी थियो। उक्त निर्वाचन क्षेत्रमा रास्वपाकी सोबिता गौतम निर्वाचित भएर प्रतिनिधि सभामा सदस्य छिन्। उषाकिरण अहिले फाउन्डेशको अध्यक्ष निर्वाचित भएकी छन्।

दुई कार्यकाल राष्ट्रपति बनेकी विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने तरखरमा छिन्।

उनका लागि माओवादी उपाध्यक्ष बनेर सक्रियता देखाएका नन्दबहादुर पुनःका कारण सहज वातावरण बनेको छ। माओवादीले पूर्वउपराष्ट्रपति पुनःलाई उपाध्यक्षमा स्वीकार गरेको छ।

एमाले स्थायी समिति सदस्य कर्ण थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने बाटो खुलीसकेको बताइसकेका छन्। उनले विद्यादेवी भण्डारी नै अबको नेतृत्व हाँक्ने एमालेको उत्तराधिकारी समेत रहेको दाबी गरिसकेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी