नेभिगेशन
राजनीति

विपक्षले समर्थन गरेको छैन भनेर घोत्लिन पर्दैन : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले पार्टीका सांसदहरूलाई सरकारले ल्याएको नीति तथा कार्यक्रम सही भएकाले ढुक्कले अघि बढ्न निर्देशन दिएका छन् । एमाले संसदीय दलको आज (शनिबार) को बैठकलाई सम्बोधन गर्दै उनले विपक्षीहरूको काम नै विरोध गर्ने भएको बताए ।

उनले भने, ‘विपक्षी भए पनि जे भए पनि विरोध गर्नुपर्छ भन्ने लागेको होला । कुनै एउटा बुँदाको पनि विपक्षले समर्थन गरेको छैन । त्यसैले विपक्षले भनेको कुरामा कुनै सत्यता छ कि भनेर घोत्लिनुपर्ने आवश्यक छैन । उनीहरूले सत्य भए पनि असत्य भए पनि विरोध गर्ने नै हुन्, हामीले असत्य लेखेको छैन । उनीहरूले सत्यको विरोध गर्ने हुन् ।’

प्रधानमन्त्री ओलीले सरकारले सुशासन र सामाजिक न्यायको पक्षलाई प्राथमिकता दिएको जिकिर गरे । संसदमा बोलेको कुरा रेकर्ड रहने भएकाले पार्टीका सांसदहरूलाई सचेत भएर बोल्न निर्देशन दिए । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘केही गलत कुरा बोल्यो कि रेकर्डबाट हटाउने माग गर्न थालिहाल्छन् त्यो गलत हो, गलत बोलेको कुरा पनि रेकर्डमा रहनु पर्छ किनभने पछिको पुस्ताले पनि थाहा पाओस् कि हाम्रा पुर्खाले के बोलेको थिए’ उनले भने । प्रधानमन्त्री ओलीले संसदमा आफ्नो कुरा अध्ययन गरेर प्रष्ट रुपमा कुरा राख्न समेत सांसदहरूलाई आग्रह गरे ।

एमालेको संसदीय दल आकारको हिसाबले मात्र ठुलो होइन, विचार र मुद्दाको हिसाबले समेत ठुलो रहेको बताउँदै उनले संसदमा बोल्नका लागि बुँदाहरू लेखेर जान पनि आग्रह गरे । ‘बुँदा लिएर गएमा कुनै कुरा छुट्दैन, ती बुँदालाई मज्जाले व्याख्या गर्न सजिलो हुन्छ’ उनले भने, ‘संसदमा तत्काल उठ्ने गलत कुरालाई प्रतिवाद गर्न पनि तयारीका साथ बोल्नुपर्छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति