नेभिगेशन
समाज विविध

बरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता, यसअघि कांग्रेसमा थिए

काठमाडौं– ललितपुरको टिकाथलीमा बसोबास गरी घरजग्गा कारोबार समेत गरिरहेका ४८ बर्षिय ललित केसी अहिले प्रहरी कस्टडीमा अनुसन्धानका क्रममा छन्। 

काठमाडौं जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दाबारे सुनुवाईका क्रममा जाहेरवालाको तर्फबाट बहस गरेका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि उनले हातपात गरेका थिए। 

उनीविरुद्ध त्रिपाठीले उजुरी दिइसकेका छन्। सिंहदरबार वृत्तमा हिरासतमा रहेका केसीलाई राजेन्द्र भनेर चिनिन्छ। 

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता रहेको खुलेको छ। यद्यपि रास्वपा निमित्त प्रवक्ता प्रतिभा रावलले उनी पार्टीको कार्यकर्ता नभएको दाबी गरिरहेकी छन्।

४८ वर्षीय ललित केसी दोलखाको तामाकोशी गाउँपालिका १ का स्थानीयवासी रहेको र केही महिनाअघि नेपाली कांग्रेस छाडी रास्वपामा प्रवेश गरेको उनलाई चिन्नेहरूले बताएका छन्।

तामाकोशी–१ मा एमालेबाट निर्वाचित वडा सदस्य सुन्दर केसीकाका अनुसार दाजुभाई पर्ने ललित हालसालै रास्वपाको समर्थनमा उत्रिएका व्यक्ति हुन्। प्रहरीले भने उनको पृष्ठभूमी पत्ता लगाएको छैन। 

केसी आफैंले आफ्नो कारोबार र राजनीतिक परिचय नखुलाएका कारण प्रहरीले दबाब नदिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

कुटाई खाने बरिष्ठ अधिवक्ता त्रिपाठी भने डेमोक्रेटिक लयर्स एशोशिएसनको प्रतिनिधित्व गर्छन्। यो कांग्रेस समर्थित कानुन व्यावसायीको संगठन हो।

त्रिपाठी नेपाली कांग्रेसबाट २०७० सालको दोस्रो संविधान सभामा रुपन्देही ७ बाट उम्मेदवार बनेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध