Nic Ad Nic Ad
Nic Ad Nic Ad

तरकारी खेतीमा रमेर लागेका वडाध्यक्ष ‘चौधरी’

बिहीबार, माघ ३, २०८१

दाङ- यहाँको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेंडा फलेका छन्। प्याजका बेर्ना उम्रिँदै छन्।

samridhi jewllers

उनी सो वडाका वडाध्यक्ष पनि हुन्। वर्षौँदेखि तरकारीखेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिइरहेका छन्।

“तरकारी खेती हाम्रो पुरानो पेसा हो”, उनले भने, “म जनप्रतिनिधि भएपनि यो पेसा छोड्न सक्दिन।”  करिब तीन कठ्ठा जमिनमा उनले गोलभेंडाखेती गरेका छन्। अन्यमा केराउ, प्याज, लसुनखेती गरेका छन्। चौधरीले जम्मा २२ कठ्ठा जग्गामा बर्सेनी तीन बाली खेती लगाउँछन्। कचिलामा बेमौसमी तरकारी बढी उत्पादन हुन्छ।

वडाअध्यक्ष चौधरी माघको अन्तिमतिर सिमी, करेला, बोडी, भेडे खोर्सानी रोप्ने तयारीमा छन्। साउनमा काँक्रा, सिमी  र बोडी रोप्छन्। असोजमा गोलभेडा, केराउ रोप्ने गरेको उनी बताउँछन्।

“जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन”, वडाध्यक्ष चौधरीले भने, “तर, म उत्पादनमा जोडिनुपर्छ, ताकी यो कुराले अरुलाई प्रेरणा होस्।” 

उनले उत्पादन गरेको तरकारीले उचित बजार भने पाउन सकेको छैन। भारतबाट आयातित तरकारीले यहाँ उत्पादित तरकारीले बजार नपाउने गरेको उनको गुनासो छ। चिस्यान केन्द्र नहुँदा यस्तो समस्या हुने गरेको उनले बताए।

हाल कचिलासहित आसपासका वडामा उत्पादित तरकारीलाई बजारीकरण गर्न शितलपुरमा हाटबजार लगाउने तयारी गरिएको छ।

गोलभेडा, प्याज, लसुन, खुर्सानीलगायत बिक्री गरेर उनले वार्षिक चार लाखसम्म आम्दानी गर्दै आएका छन्। उनले राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य हुनुपर्ने बताए।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्