नेभिगेशन
मनोरञ्जन

‘पुष्पा २’द्वारा हल कब्जा, पूर्णबहादुरको ५० करोड घरेलु कमाई पूरा हुने न्यून सम्भावना  

काठमाडौं– बहुप्रतिक्षित रहेको आजदेखि प्रदर्शनमा आएको साउथ इन्डियन फिल्म ‘पुष्पा २’ले नेपालका हल कब्जा गरेको छ। चलिरहेका नेपाली फिल्मभन्दा उसले भयानक शो पाएको छ। 

हल सञ्चालकहरुले दर्शकको रोजाइमा परिरहेका नेपाली फिल्महरु उतारेर ‘पुष्पा २’ लाई ऐतिहासिक संख्यामा शो दिएका छन् ।

दशैंयता नेपाली चलचित्रहरुले हलहरुमा उच्च व्यापार गरिरहेका थिए। ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’, हुँदै ‘पूर्णबहादुरको सारंगी’ सम्म आइपुग्दा हलहरुले करोडौंको बिजनेस गरेका छन्।

ओभरसिजसहित ऐतिहासिक कमाई गरे पनि पुष्पा २ का कारण पूर्णबहादुरले घरेलु कमाईमा ५० करोडको बिजनेश पुराउने लक्ष्य न्यून भएको छ।  

अहिले पनि हलमा ‘पूर्णबहादुरको सारंगी’सँगै ‘ह्रस्व–दीर्घ’ र ‘तेल भिसा’ चलिरहेका थिए, तर हलहरुले आजबाट यी तीनवटै नेपाली चलचित्रलाई नगन्य शोमा खुम्च्याइदिएका छन्। ह्रस्व–दीर्घ त लगभग खाली भएको छ।

देशभरका १६६ हलमा ‘पुष्पा २’ ले ५९१ शो पाएको छ। यो ऐतिहासिक अवसर हो। 

नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यस चलचित्रलाई काठमाडौंभित्र मात्रै ८१ शो दिएको छ । बिहान ४ः३० देखि राति १२ बजेसम्मको शो दिइएको छ। ‘पुष्पा २’ ले नेपालमा ३ करोडको ओपनिङ गर्ने प्रक्षेपण गर्दै हल सञ्चालकहरुले नेपाली फिल्महरुलाई पाखा लगाइदिएका हुन्।

यसैकारण पनि घरेलु कमाईमा आक्रामक बनेको पूर्णबहादुरको सारङ्गीले ५० करोडको लक्ष्य प्राप्तिमा संकट आएको हो। 

क्यूएफएक्सले बिहीबारका लागि ‘पूर्णबहादुरको सारंगी’लाई जम्मा १० शो दिएको छ भने आईएनआईले जम्मा ३ शो दिएको छ।

उच्च प्रशंसा पाइरहेको चलचित्र ‘तेल भिसा’ लाई क्यूएफएक्सले बिहीबारका लागि जम्मा ४ शो दिएको छ।

पुष्पा २ यसअघिको पुष्पाको पूरक सिनेमाका रुपमा अपेक्षित थियो भने यो सबैभन्दा महँगो शुल्क तिरेर बितरकहरुले मिलेर नेपाल ल्याएको फिल्म हो। यद्यपि नेपालमा यसको थ्रीडी संस्कर ल्याउन वितरकलाई नै सम्भव भएन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन