नेभिगेशन
समाज विविध
जन्मोत्सव

कति बर्ष पुगिन् हिमानी शाह? उनीबारेका केही रोचक जानकारी

काठमाडौं– अन्तिम युवराज्ञी हिमानी शाहले मंगलबारबाट ४९ बर्षको उमेरलाई टेकेकी छन्। सन् १९७६ अक्टोबर १ का दिन जन्मिएकी उनले ४८ बर्ष पार गरिन्। 

पछिल्ला बर्षहरूमा चर्चामा रहेकी हिमानी शाह काठमाडौंमा जन्मिएकी हुन्। उनी सिकरकी राजकुमारी हिमानी सिंहका रूपमा जन्मिएकी थिइन्। उनी श्री रावराजा विक्रम सिंहकी माइली छोरी हुन्। 

सिकरका १२ औं राजा र रावजी कुल र रानी विपुला सिंह (बझाङकी  कुमारी विपुला सिंह) को परिवारको उत्तराधिकारीका रुपमा जन्मिएकी हिमानीले काठमाडौंको ग्यालेक्सी स्कुलमा अध्ययन गरिन्। 

उनकी दिदी रेश्मा सिंह र बहिनी अपर्णा सिंह, डाक्टर हुन्। हिमानीले मनिषा कोइरालासँगको संवादमा भनेकी छन्,‘अध्ययनका हिसाबले मेरा दिदीबहिनीभन्दा कम मैले नै पढेकी छु।’

साप्ताहिक नेपाली पत्रिकाले हिमानीलाई २०१८ को सबैभन्दा आकर्षक महिला घोषित गरेको थियो। उनी २०१७ मा दोस्रो स्थानमा आएकी थिइन्।

सामाजिक काममा हिमानी ट्रष्टमार्फ नेपालका दूर दराजसम्म काम गरेकी हिमानी ३० नोभेम्बर २०२३ मा परोपकारी योगदानको लागि फिलिपिन्सको मनिलामा गुसी शान्ति अन्तर्राष्ट्रिय पुरस्कार २०२३ बाट सम्मानित भएकी थिइन्।

उनका तीन सन्तान छन्। पूर्णिका, कृतिका र हृदयेन्द्र हिमानी र पारसका सन्तान् हुन्। 

राजसंस्थाको बहिर्गमनपछि हिमानीको पारिवारिक जीवनमा केही उतार चढाव आएका थिए। अन्तिम युवराज पारस शाहसँग उनको सम्बन्ध त्यसपछि त्यति राम्रो नभएको चर्चा भयो। तर, आजभोली भने त्यो स्थितिमा नरहेको पनि बताइन्छ।  

पारस–हिमानी नजिक नहुनुको एउटा तर महत्वपूर्ण कारणचाहिँ धार्मिक अन्धविश्वास पनि रहेको बताइएको थियो। धार्मिक माताको नाममा काम गरिरहेकी सविता नामकी महिलाले हिमानीलाई केही बर्षसम्म पारससँग बस्न नहुने सुझाव दिएकी थिइन्। सोही सुझावले नेपालमा रहँदा पनि पारसको निर्मलनिवास प्रवेशमा ब्रेक लगायो।

केही बर्षदेखि पारस नेपालमै भए पनि हिमानीसँग नजिक हुने अवसर पाएका छैनन्।

तन्नेरी भएका छोरीहरूसँगको टिकटक नृत्य अनि विभिन्न कार्यक्रममा उपस्थित हुँदा गरेका नृत्यका कारण पनि हिमानीको चर्चा मिडियामा हुने गरेको पाइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध