Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको निर्वाचनको बाछिटा नेपालमा कस्तो पर्छ ?

बिहीबार, जेठ २४, २०८१

भारतमा लोकसभाको चुनाव सकिएर परिणाम पनि सार्वजनिक भइसकेको छ । प्राप्त चुनावी परिणाम अनुसार गठबन्धनको सरकार बन्ने पक्का भएको छ । त्योसँगै अब नेपालमा भारतीय चुनावी परिणामको बाछिटा कस्तो पर्न सक्ला भन्ने चर्चा सुरू हुन थालेको छ । 

लोकसभाको निर्वाचन परिणाम अनुसार भारतीय जनता पार्टीले एकल बहुमत ल्याउन नसके पनि उसकै नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएको छ । दोस्रो स्थानमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन रहेको छ । एक्ला एक्लै दलकारूपमा भाजपाले २४०, कांग्रेसले ९९, समाजवादी पार्टीले ३७, तृण्मूल काँग्रेस २९, डीएमके २२, तेलुगु देशम पार्टी, १६, जनता दल (युनाइटेड) १२, शिव सेना (उद्धव) ९, एनसीपी (शरद पवार) ८ र शिवसो (शिंदे) ७ सिटमा विजयी भएका छन् ।

गठबन्धनमा परिवर्तन नभएमा प्रधानमन्त्री मोदीले नै तेस्रो कार्यकालका लागि सरकार बनाउने प्रस्ट छ । उनले राष्ट्रपतिसमक्ष राजिनामा बुझाइसकेका छन् । सरकारको नेतृत्व गर्न पाउने देखिए पनि मोदी आफ्ना अघिल्ला दुई कार्यकाल जस्तो बलियो हुने सम्भावना छैन । यसैले भारतको राजनीति फेरिने र त्योसँगै छिमेकी देशहरूमा उसको प्रभाव र गतिबिधि फरक पर्ने आँकलन हुन थालेका छन् । 

भारतमा बन्ने नयाँ सरकारले नेपालमा पार्न सक्ने प्रभाव कस्ता कस्ता रहन सक्छ, हेरौँ : 

१. छिमेकी नीति र नेपालमा प्रभाव :

मोदीको तेस्रो कार्यकाल अलग्गै र विशेष रहने यस अगाडि प्रक्षेपण गरिएको थियो । तर जसै विपक्षी इन्डिया गठबन्धनले भाजपा र उसको गठबन्धनलाई टक्कर दियो, सबै परिस्थिति फेरियो । प्रतिपक्षी दलले मान्यतासमेत नपाउने मत ल्याउँछ भन्ने मोदीलाई अब प्रतिपक्षी दलहरूको विरोधलाई नजरअन्दाज गर्नै नसक्ने अवस्थाको सामना गर्नु पर्नेछ । 

यस्तोमा भारतले विदेश नीतिमा ठुलो फेरबदल गर्न सक्ने सम्भावना न्यून हुन्छ । यसको प्रत्यक्ष असर नेपालमा देखिन सक्छ । भारतले नेपालमा जसरी माइक्रो म्यानेजमेन्ट गर्ने भन्ने आरोप लगाइन्छ, त्यो प्रयास कम हुन पुग्नेछ । बरू नेपालसँग सम्बन्ध सुमुधर बनाउनका लागि नेपाल–भारत संयुक्त प्रबुद्ध समूहको प्रतिवेदन दुवै देशले स्वीकृतका लागि भारतले पुनर्विचार गर्ने सम्भावना बढ्छ ।

स्मरणका लागि नेपाल भ्रमणमा आएका बेला सन् २०१४ मा मोदीले नै ईपीजी गठनको प्रस्ताव गरेका थिए । सो बमोजिम ईपीजी गठन भएर प्रतिवेदन पनि तयार भइसकेको छ । तर तयार भएको ईपीजी प्रतिवेदन भारत सरकारले बुझ्न मानेको छैन ।

२. हिन्दु राष्ट्र बनाउने चलखेल बन्द : 

नेपाललाई हिन्दु राष्ट्र बनाउन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ निकै सक्रिए थिए । तर यो लोकसभा निर्वाचनको परिणामबाट उनी झन् कमजोर भएका छन् । उनी आफै कमजोर भएको समयमा नेपालमा हिन्दु राष्ट्र बनाउन उनले चलखेल गर्ने सम्भावना कम हुन्छ । 

त्यसै पनि ४०० पार सिट जितेर संविधान संशोधन गर्ने भाजपाको सपना विफल भएको छ । समाचारमा आए अनुसार बुझ्ने हो भने बिजेपी ४०० सिट पार गरेर संविधान नै बदल्न उद्यत थियो । संविधान संशोधन गरेर भारतलाई हिन्दु राष्ट्र बनाउने प्रयत्न असफल भएको छ । यसैले यो चुनावले भारतलाई हिन्दु राष्ट्र बनाउने मात्र नभएर नेपाललाई हिन्दु राष्ट्र बनाउने प्रयासमा पनि ब्रेक लगाइदिएको छ । 

३. नेपालको सरकारलाई राहत :

नेपालको सत्तागठबन्धनसँग सहमत र असहमत हुने दुवै भारतको निर्वाचन परिणाम र त्यसबाट सरकार बन्ने समयसिमाका लागि प्रतिक्षारत थिए । भारतमा बन्ने नयाँ सरकारले नेपालमा पनि यो गठबन्धन भत्काएर नयाँ सरकारका लागि पहल लिन्छ भन्ने उनीहरूको तर्क हुन्थ्यो । 

तर गठबन्धन सरकार बनाउनु र त्यसलाई टिकाउने खेलमा भारतीय संस्थापन पक्षको लागि नेपाल प्राथमिकता पर्ने सम्भावना कम हुन पुग्छ । यसकारण नै नेपालको अहिलेको सरकारको आयू लम्बिन सक्छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ००:३३
प्रतिक्रिया दिनुहोस्