नेभिगेशन
विश्व

गाजामा इजरायली हवाई आक्रमण: ४० जनाको मृत्यु

एएफपी । गाजामा इजरायली हवाई आक्रमण परी ४० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।

गाजाको नागरिक सुरक्षा निकायले जानकारीअनुसार, आक्रमण बजार, पानी वितरण केन्द्र र शरणार्थी शिविरहरूलाई लक्षित गरी गरिएको थियो ।

यता, इजरायल र हमासबीच २१ महिनादेखि चलिरहेको युद्ध अन्त्य गर्न कतारको राजधानी दोहामा भइरहेको युद्ध विराम वार्ता एक सातासम्म प्रयास हुँदाहुँदै अड्किएको छ । दुवै पक्षले एक अर्कामाथि वार्ता अवरुद्ध पार्ने आरोप लगाएका छन् ।

गाजामा हिंसा जारी रहँदा, युद्धका कारण दुई करोडभन्दा बढी जनसङ्ख्या मध्ये अधिकांश कम्तीमा एक पटक विस्थापित भइसकेका छन् । खाद्य संकट, इन्धनको चरम अभाव र अस्पतालहरूको सेवा प्रभावित बनेको भन्दै संयुक्त राष्ट्रसंघका सात निकायले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

गाजाको नुसेरात शिविरमा पानीको धारा नजिक भएको ड्रोन आक्रमणमा आठ बालबालिकासहित १० जना मारिएको जनाइएको छ । गाजा सिटीमा रहेको एक व्यस्त बजारमा गरिएको आक्रमणमा ११ जनाको मृत्यु भएको हो ।

स्थानीय बासिन्दाहरूले अनुभव सुनाउँदै भने, “हामी बिहानै ठूलो विस्फोटको आवाजले ब्यूँझियौँ । छिमेकीको घर पूर्ण रूपमा ध्वस्त भयो र उनका साना बालबालिकासहित सबै भग्नावशेषमा पुरिए ।”

अर्का एक बासिन्दा महमुद अल-शामीले  भने ,“हामीमाथि जे भइरहेको छ, त्यो मानव सभ्यताको इतिहासमै कहिल्यै भएको थिएन । अब यस युद्धको अन्त्य हुनुपर्छ ।” गाजाको दक्षिणी सागरकिनारस्थित अल-मावासी क्षेत्रमा विस्थापित बसेको पालमाथि भएको आक्रमणमा पनि तीन जना मारिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व