Nic Ad Nic Ad
Nic Ad Nic Ad

फोहर सङ्कलनमा नेपाली सेना प्रथम

शनिबार, वैशाख २९, २०८१

दमौली- तनहुँको दमौलीस्थित बुल्दीखोलामा आज आयोजित बृहत् सरसफाइ अभियानमा नेपाली सेनाको टोलीले  एक हजार केजीभन्दा बढी फोहर सङ्कलन गरी प्रथम भएको छ । 

युवा अभियान्ता सुदीप गफ्फारको सक्रियतामा सञ्चालित सरसफाइ अभियानमा धेरै फोहर सङ्कलन गर्ने व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभञ्जन गण (इ) लाई पुरस्कृत गरियो ।

व्यास नगरपालिका–१ करङकाठदेखि व्यास नगरपालिका-३ सेतीबुल्दी दोभानसम्म भएको सरसफाइ अभियानमा सेनाले एक हजार २४ किलो फोहर सङ्कलन गरेको थियो । त्यस्तै व्यास नगरपालिका-२ स्थित पुलजीप टोल विकास संस्थाले नौ सय ४० दशमलव सात किलो फोहर सङ्कलन गरी दोस्रो स्थान हासिल गरेको छ । 

प्रथम भएको समूहलाई नगद रु १० हजार र प्रमाणपत्र तथा दोस्रो भएको समूहलाई नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ । 

विद्यालयस्तरीय बालबालिकाबीच भएको उक्त प्रतिस्पर्धामा न्यू मनकामना बोर्डिङ स्कूल प्रथम र कन्काइ ग्लोबल एकेडेमी दोस्रो भएको छ । मनकामनाका विद्यार्थी समूहले छ सय ४५ दशमलव नौ  र कन्काइका विद्यार्थी समूहले पाँच सय १६ दशमलव नौ किलो फोहर सङ्कलन गरेका थिए । उनीहरुलाई क्रमशः रु चार हजार र रु दुई हजार नगद प्रदान गरियो । त्यसक्रममा कूल ५४ समूहको सहभागिता रहेको थियो ।

बुल्दीखोला दिनप्रति दिन प्रदूषित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको अभियान्ता गफ्फारले जानकारी दिए । खोला सरसफाइसँगै प्रतियोगिात्मक रुपमा सञ्चालन गरिएको यस अभियानले सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको उनको भनाइ छ । 

बृहत् सरसफाइ अभियानका लागि टोल, विद्यालय, क्याम्पस, सङ्घसंस्था लगायतबाट साथ र सहयोग पाएको बताउनुभयो । बुल्दीखोला स्वच्छ र सफा राख्ने उद्देश्यसहित बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको उनले बताए । उनले भने, “भावी पुस्ताका लागि खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । खोलाको अवस्था देखेर सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको हुँ ।”

बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उनले भने, “महर्षि वेदव्यासले बुल्दीखोलामा हात धोएको धार्मिक महत्व छ । त्यसकारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुङ्गाढुङ्गामा देवताको बास छ ।”

उनकै नेतृत्वमा आगामी जेठ ५ गते भानु र बन्दीपुरको सिमानास्थित चुँदीखोलामा वृहत सरसफाइ अभियान सञ्चालन हुँदैछ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एउटा युवाको सक्रियतामा बुल्दीखोला बृहत् सरसफाइ अभियान हुनु खुसीको कुरा भएको बताए । उनले भने, “यो अभियानमा सबैको सद्भाव र सहयोग हुन राम्रो कुरा हो ।”

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्